रकम तिर्न नसक्दा अस्पतालमै अलपत्र

बुटवल । जाजरकोट पजारु ९ की कल्पना रोका साताअघि डिस्चार्ज भए पनि उपचारमा लागेको खर्च तिर्न नसक्दा चौराह अस्पतालमा अलपत्र छिन् । उनी फागुनको पहिलो साता घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी थिइन् ।

पति राजेन्द्र रोकाका अनुसार छाती, पेट र टाउकामा गम्भीर चोट लागेकी उनलाई सुरुमा नेपालगन्जको भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

थप उपचारका लागि बुटवल रेफर गरिएको हो । चौराह अस्पतालमा कमलाको टाउकाको शल्यक्रिया भएको थियो । अस्पतालले आईसीयू र औषधिको गरी २ लाख १२ हजार ४ सय ९८ रुपैयाँको बिल दिएको छ।

उपचारका लागि रकम लिएर आएका कान्छा ससुराको बस दुर्घटनामा परी मृत्यु भएपछि उनी थप संकटमा परिन् । राजेन्द्रका अनुसार भेडा बेचेर ३ लाख रुपैयाँ लिएर आएका वीरबहादुरको अघिल्लो साता जाजरकोट बस दुर्घटनामा परी मृत्यु भएको थियो । ‘अब ऋण पत्याउने पनि कोही छैन,’ उनले भने ।

अस्पतालका संयोजक सुन्दर पोखरेलले ३ लाख ६० हजार रुपैयाँ खर्च लागे पनि केही रकम छुट दिएको बताए । त्यसमध्ये शल्यक्रियाका लागि करिब ८० हजार रुपैयाँ बराबरको औषधि डा.केआई सिंहले सहयोग गरेका हुन् ।

यसैबीच दाह्री सहयोग ग्याङले रोकालाई घर फर्काउनका लागि सहयोग संकलन थालेको छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।