नेपालको शान्ति प्रक्रिया बिश्वकै सफल नमूनाः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया बिश्वकै लागि नमूना भएको बताएका छन ।

आज विहान म्यानमारको शान्ति टोली र नेपालस्थित इन्ट्रिस्च्यूड अफ क्राइसिस् म्यानेजमेन्ट स्टडिजद्वारा आयोजित कार्यक्रममा शान्ति प्रक्रियाका अनुभवहरु प्रस्तुत गर्दै प्रधानमन्त्रीले भने–‘नेपालको शान्ति प्रक्रिया सफल शान्ति प्रक्रियाको कोटीमा पर्दछ ।’

यद्धपि यसका सबै प्रक्रिया अझै सफल भइसकेका छैनन् । तर, यसका मुलभूत रुपमा दुई पक्ष हुन्, यी दुबैमा हामी सफल भएका छौं । हाम्रा अनुभव मौलिक छन् । अरु देशको नक्कल छैनन । राजनीतिक रुपमा राजतन्त्रात्मक संसदीय व्यवस्था अन्त्य भई संघीय लोकतान्त्रि गणतन्त्र स्थापना भएको छ । संविधानसभावाट नयाँ संविधान बनेको छ, नयाँ संविधानमा राजनीतिक उपलब्धीहरु संस्थागत भएका छन् ।

यसैगरी अर्को धेरै कठिन कार्य फौजी तथा प्राविधिक पाटो थियो, जसलाई हामीले बिश्वका अरु देशका तुलनामा तुलनात्मक रुपमा सहज र सजिलै म्यानेज ग¥यौ ।’

प्रधानमन्त्रीले नेपाल र म्यानमारबीच असल मित्रताको सम्बन्ध रहेको बताउँदै त्यहाँ सुरु भएको युद्ध विराम र शान्ति वार्ता निष्कर्षमा पुग्ने बिश्वास व्यक्त गरे। उनले हरेक देशका शान्ति प्रक्रियाका आफ्नै विशेषता र मौलिकता हुने बताउँदै तिनलाई हुबहु अर्को देशमा लागू गर्न नसकिने स्पष्ट पारे ।

प्रधानमन्त्रीले राजनीतिक उद्देश्य भएका आन्दोलन वार्ताका माध्यमवाट हल हुन सक्ने बताउँदै राजनीतिक उद्देश्य नभएका र जनताको जीवन ब्यावहारसँग प्रत्यक्ष जोडिने माग नभएका द्वन्द्व भने अपराधिक गतिविधि मात्र हुने प्रष्टाए।

उनले विकसित देशमा यति ठूलो शान्ति प्रक्रिया भएको भए धनी देशहरुले त्यसको ब्यापक प्रचार र नायकहरुलाई स्थापित गर्ने थिए, तर नेपाल जस्तो सानो र गरिव देश भनेर उनीहरुले यति ठूलो नमूना शान्ति प्रक्रियाको प्रचार गर्न पनि हिच्किचाइरहेको बताए ।