निर्वाचन आयुक्तहरुसँग आज प्रधानमन्त्री दहालले छलफल गर्ने

निर्वाचनको तयारीका विषयमा दोहोरो परामर्श

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचनको राजनीतिक वातावरणको विषयमा प्रमुख निर्वाचन आयुक्तसँग छलफल गर्ने भएका छन ।

हिजोमात्र साताव्यापी चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका प्रधानमन्त्री प्रचण्डले निर्वाचनको वातावरण निर्माणमा जोड दिदै परामर्शको लागि निर्वाचन आयोगका मुख्य आयुक्त डा. अयोधिप्रसाद यादवसँग परामर्श गर्न लागेका हुन ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साझँ चार बजे प्रमुख निर्वाचन आयुक्त डा. यादवहित अन्य आयुक्तहरूलाई आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्नका लागि डाकेका छन।

प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयुक्तहरुसँगको उक्त छलफलमा निर्वाचनको अहिलेसम्मको तयारीका र सबै दलहरुलाई निर्वाचनमा सहभागि गराउनका लागि गरिएको प्रयासको विषयमा समेत कुरा गर्ने बताइएको छ ।

प्रधानमन्त्रीले सरकारले तोकेको मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नका लागि आयोगको काम,कार्वाही र तयारीमा समेत ध्यान पुगाउँनु पर्ने भन्दै त्यस्तो छलफलको तयारी गरेका बताइएको छ ।

सरकारले तोकेको स्थानीय निकायको निर्वाचनमा मधेशी मोर्चा समेत सहभागि हुने प्रधानमन्त्रीले आफ्नो विश्वास रहेको बताउँदै आएका छन ।