सुनसरीमा खाद्य सुरक्षाको अवस्था राम्रो

इनरुवा । सुनसरीमा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको जिल्लाको खाद्य सुरक्षा अवस्था विश्लेषण प्रतिवेदनले देखाएको छ । यहाँ वार्षिक करिब ६ अर्बको खाद्य वस्तु उत्पादन भइरहेको जनाइएको छ ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीले दिएको जानकारीअनुसार जिल्लामा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको छ ।

जिल्लामा धान,गहूँ , दलहन र तेलहन बाली गरी खाद्यान्नमा जिल्लाको समग्र अवस्था सकारात्मक रहेको कार्यालय जनाएको छ । यहाँ वार्षिक उत्पादन बढेकाले खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिए ।

जिल्लामा खाद्य सुरक्षाको अवस्था विश्लेषण प्रतिवेदनअनुसार वार्षिक रुपमा करिब रु ६ अर्ब बराबरका खाद्यान्न तथा पशुजन्य पदार्थको उत्पादन र कारोबार भइरहेको छ ।

जिल्लाको खाद्य सुरक्षा अवस्था विश्लेषण दोस्रो चौमासिक फागुनसम्मकोे तथ्याङ्कअनुसार धान, हिउँदे तरकारी, तोरी, आलु, उखु, केरा र माछाबाट करिब रु तीन अर्ब २५ करोड १३ लाख बराबरको आम्दानी किसानले गरेका छन् ।

त्यसैगरी, पशु र पशुजन्य पदार्थ मासु, दूध र अन्डाबाट करिब रु दुई अर्ब ३४ करोड १९ लाख आम्दानी भएकोे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्लामा ६ अर्बको हाराहारीमा खेतबारी र पशुपालनबाट आम्दानी भइरहेको छ भने वैदेशिक रोजगारबाट गत चार महिनाका अवधिमा रु ६ अर्ब ४४ करोड भित्रिएको छ ।

जिल्लामा प्रत्येक गाउँपालिका र नगरपालिकामा गरिएको सर्वेक्षणअनुसार ८० प्रतिशत घरधुरीका लागि वर्षभरि खान पुग्ने र २० प्रतिशतको अवस्था सामान्य रहेको देखिएको छ ।

यहाँ ८० प्रतिशत घरधुरीमा खाद्यान्न उपभोगको न्यूनतम आवश्यकता पूरा गर्नका लागि सक्षम रहेको समितिका संयोजक एवम् प्रजिअ गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

जिल्लामा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको भए पनि सन्तुलित खानाको अभावमा २.७ प्रतिशत बालबालिका कुपोषित रहेको समितिका सदस्य एवम् जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले जानकारी दिए । रासस