रानीपोखरी निर्माण अलपत्र

काठमाडौँ । काठमाडौंको मध्यभागमा रहेको रानीपोखरीको पुनर्निर्माण अलपत्र परेको छ । पोखरीमा के राखेर पानी अड्याउने भन्नेबारे टुंगो नलाग्दा पुनर्निर्माणको काम रोकिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष रानीपोखरी पुनर्निर्माणको उद्घाटन गरेकी थिइन् । काठमाडौं महानगरपालिकाले ०७३ कात्तिकमा सक्ने गरी रानीपोखरी निर्माण कार्य अघि बढाएको थियो ।

यसका लागि १० करोड रुपैयाँ बजेट पनि विनियोजन भएको थियो । डिजाइन गरेर काम थाले पनि पोखरीमा पानी अड्याउने उपायबारे अन्योल हुँदा निर्माण अलपत्र परेको महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले जानकारी दिए ।

‘रानीपोखरी निर्माण गर्ने त भनियो । बजेट पनि विनियोजन भयो । आकर्षक नक्सा बन्यो र काम पनि अघि बढ्यो,’ काफ्लेले भने–‘तर, पोखरीमा पानी अड्याउने विषयतर्फ कसैको ध्यान पुगेन । यही कारण अहिले रानीपोखरी निर्माण अलपत्र बन्न पुगेको छ ।’

‘नक्साअनुसार पोखरीको पानी झिकियो ।माछा अन्यत्र सारियो । पोखरीमा जमेको माटो निकाल्दै जाँदा पिँधमा बालुवा भेटियो’ काफ्लेले भने–‘बालुवामा पानी त अडिन सक्दैन । यस्तो अवस्थामा के गर्ने भनेर नक्सामा केही भनिएको छैन ।

निर्माण सामग्री विवाद टुंगियो

रानीपोखरीको मध्यभागमा रहेको मन्दिर पुनर्निर्माणमा कस्ता सामग्री राख्ने भन्नेमा काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच विवाद थियो । महानगरपालिकाले अत्याधुनिक बनाउने गरी काम थालेको थियो । तर, पुरातत्व विभागले पुरानै सामग्री प्रयोग गर्नुपर्ने भन्दै रोक्न आदेश दिएपछि मंसिरदेखि निर्माणको काम प्रभावित भएको थियो ।

तर, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले मन्दिरको विषय टुंगिएको जानकारी दिए । विभागका कारण रानीपोखरी निर्माण अलपत्र नभएको उनले बताए ।

‘‘विभागको कन्सर्न मन्दिर मात्रै हो । विभागले मन्दिर निर्माण मात्रै नगर्नु भनेको हो । पोखरी निर्माणमा विभागको कुनै सरोकार छैन’ महानिर्देशक दाहालले भने–‘विभागले नै मन्दिर निर्माण गर्ने सहमति भइसकेको छ । सोअनुसार टेन्डरसमेत आह्वान गरिएको छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।