कांग्रेस नेताको हत्यामा हाम्रो संलग्नता छैनः नेकपाका नेता अनूकुल

कार्यकर्ता रिहाइको माग

जाजरकोट । विप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टी जाजरकोटले नेपाली कांगे्रसका नेता तथा पाँच तारा युवा संरक्षण मञ्चका अध्यक्ष रविन्द्र विक्रम शाहको हत्या प्रकरणमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएको छ ।

नेकपा जाजरकोटका इन्चार्ज समेत रहेका नेता अनूकुलले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त घटनाबारे दुख ब्यक्त गर्दै आफ्नो पार्टीको संलग्नता नरहेको बताएको हो ।

जाजरकोट इनचार्ज अनूकुलले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कडा कार्वाही गर्न माग समेत गरेका छन । उनले उक्त घटनालाई आफ्नो पार्टीसँग जोडेको र नेताहरुलाई पक्राउ गरिएको प्रति खेद प्रकट गर्दै गिरफ्तार कार्यकर्ताको सिर्घ रिहाइको माग गरेका छन ।

उनले विज्ञप्तिमा भनेका छन–‘केही आफुलाई कहलिएको पत्रकार ठान्ने व्यक्ति र संञ्चारमाध्यमबाट हाम्रो पार्टिमाथि लगाईएको कपोकल्पित झुटो आरोप आपत्तिजनक छ । स्मरण रहोस, विगत जनयुद्धकालमा पनि हाम्रो पार्टीले जनताको हत्यारामाथि कार्वाही बाहेका कुनै ब्यक्ति हत्या गरेको छैन ।’

उक्त घटनाबाट जाजरकोटका स्थानीय कांग्रेस नेता शाहको चैत्र १५ गते हत्या भएको थियो । उक्त हत्या कस्ले गरेको हो भन्ने अझै रहस्यमय रहेको बताइएको छ ।