निर्वाचनमा मधेशका युवा तयार

धनुषा । मधेशकेन्द्रित दलले संविधान संशोधनबिना स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुन नदिने अडान राखिरहेकै बेला मधेशका युवा भने निर्वाचनमा होमिन तयार देखिएका छन् ।

नेपाल प्रहरीले स्थानीय तहका निर्वाचनका लागि आह्वान गरेको म्यादी प्रहरीमा भर्नाका लागि तराई मधेशका युवा अहिले तँछाडमछाड गरिरहेका छन् । नेताहरू विरोधमा लागे पनि स्थानीय युवा भने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि तयार छन् ।

बेरोजगार युवाले म्यादी प्रहरीमा भर्नाका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा आवेदन दिन थालेका हुन् ।

प्रहरी जवानसरहको ५५ दिनको लगभग ४० हजार रुपियाँ सुविधा पाउने र प्रमाणपत्रसमेत पाइने भएका कारण आवेदन दिन लागिएको संलग्न युवाले बताएका छन् ।

दुई दिनभित्र एक हजार ५४२ जनाले आवेदन दिएको प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिए । गोरखापत्र