कक्षा १ मै प्रवेश परीक्षा

काठमाडौँ । वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले अभिभावक आफ्ना छोराछोरीका लागि राम्रो स्कुल खोज्न दौडधुपमा छन् । उनीहरूमध्ये धेरैका सन्तान कक्षा १ मा भर्ना गर्नुपर्ने उमेरका छन् ।

‘छोरीलाई सेन्ट जेभियर्स वा सेन्ट मेरिजमध्ये एउटामा पढाउँ भनेर धाइरहेको छु,’–कक्षा १ का भर्ना गराउने तयारीमा रहेका राजधानीका एक अभिभावकले भने दुईतिर जाँच दिन लगाएको छु ।

नाम चलेका स्कुलले भर्खर पढाइ आरम्भ गर्न लागेका बालबालिका भर्ना गर्नुअघि समेत परीक्षा नै लिन थालेपछि अहिले उनीजस्ता धेरै अभिभावकको मनमा यस्तै डर छ । स्कुल जीवनको प्रवेशविन्दुमै बालबालिकालाई सयौं जनामाझ परीक्षा सामना गर्न लगाएर असफल देखाउनु मनोवैज्ञानिक मात्र नभई व्यावहारिक हिसाबले समेत उचित नहुने विज्ञहरूको धारणा छ ।

त्यसैगरी सेन्ट मेरिजले १ सय ८० कोटामा विद्याथी भर्ना गर्छ । त्यसनिम्ति करिब ७ हजार जनाले फाराम भरेका छन् । यी दुई विद्यालयले फारमबापत प्रतिविद्यार्थी १ सय ५० रुपैयाँ शुल्क लिने गरेका छन् । यसैगरी नाम चलेका अन्य विद्यालयले कम्तीमा पाँच सय रुपैयाँ प्रवेश परीक्षाशुल्क लिन्छन् ।

सीमित विद्यार्थी कोटाका निम्ति सयौं अभिभावकबाट प्रवेश परीक्षा शुल्क लिएर विद्यालयले कमाउने मौका छोप्ने गरेका छन् । पहिलो चरणमा प्रवेश परीक्षा दिलाइन्छ । ज–जसले प्रवेश परीक्षा पास गर्छन्, उनीहरूका अभिभावकसहित अन्तर्वार्तामा बोलाउने गरिन्छ ।

‘छोराले लिखित परीक्षा पास गरेकाले अन्तर्वार्ताका लागि हामी दम्पतीलाई नै बोलाएको छ,’ छोरालाई एक निजी विद्यालयमा भर्ना गर्न चाहेका अभिभावकले भने–‘खोइ यो कस्तो खालको चलन हो । तैपनि छोरालाई भर्ना गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।’

अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारी कक्षा १ मा लिइने प्रवेशपरीक्षा अवैज्ञानिक रहेको बताउँछन् । ‘कक्षा १ मा भर्ना गर्ने नाममा कलिला बालबालकाको परीक्षा लिने अनि फेल गराउने नीति अवैज्ञानिक छ,’ संस्थागत विद्यालय मापदण्ड निर्देशिकाको बेवास्ता भएको उल्लेख गर्दै उनी भन्छीन–‘कक्षा १ प्रवेश गर्ने बेलामै फेल भइस् भनेर बालमनोविज्ञानमा खराब असर पुर्‍याउने काम भइरहेको छ । विद्यार्थी छनोट प्रक्रिया वैज्ञानिक बनाउनुपर्छ भनेर शिक्षा मन्त्रालय, विभागका अधिकारीलाई पटक–पटक भन्दैआएका छौं ।’

निर्देशिकाअनुसार साना बालबालिकाको विद्यालय घरबाट १० किमि र ठूलालाई १५ किमिभन्दा टाढा हुनु हुँदैन । तर, कुनै विद्यालय सञ्चालक र अभिभावकले यसलाई वास्ता गरेका छैनन् ।

शिक्षाविद् विष्णु कार्की निजी विद्यालयमा हुने प्रवेश परीक्षा निस्शुल्क हुनुपर्ने उल्लेख गर्छन् । ‘प्रवेश परीक्षाको नाममा महँगो शुल्क असुलेर व्यापारीकरण बढेको छ,’ उनले भने, ‘ठूला कक्षामा प्रवेश परीक्षा रोक्न मिल्दैन तर एक कक्षामै परीक्षा लिएर फेल गराउँदा बालमनोविज्ञानमा असर पर्छ ।’

अभिभावक भण्डारी राम्रो स्कुलको लोभमा टाढा जानुभन्दा घरपायक पर्ने विद्यालयमा पढाउनु उपयुक्त हुने उल्लेख गर्छन् । विद्यालयले विद्यार्थी छनोट गर्दा आफ्नो सेवा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न सक्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरी नयाँ भर्ना हुन चाहने विद्यार्थीका दाजुदिदी त्यहीं पढेका भएमा प्राथमिकता दिनुपर्ने, भर्ना गराउन चाहने अभिभावक सम्बन्धित विद्यालयको पूर्वविद्यार्थी अल्मुनाइ भएमा प्राथमिकता दिनुपर्ने तथा अन्यत्र बाहिरी जिल्लाबाट सारिएका विद्यार्थीलाई मौका दिन सक्नुपर्ने भण्डारी बताउँछन् ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल भने निजी विद्यालयले क्षमताअनुसार विद्यार्थी संख्या छनोट गरेर भर्ना लिन सक्ने बताए ।

‘नियमानुसार फारम भराएबापत न्यूनतम शुल्क लिन सक्छन्,’ पौडेलले भने–‘तोकिएभन्दा बढी लिएको पाइए जिल्ला शिक्षा कार्यालयको अनुगमन टोलीले कारबाहीको दायरामा ल्याउन लगाउँछु ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।