मधेसी मोर्चाले आज निर्वाचन कार्यालय घेराउ गर्ने

संविधान संशोधनको विधेयक परिमार्जनसहित पारित हुनुपर्ने माग

काठमाडौं । स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज मधेसका सबै निर्वाचन कार्यालयहरू घेराउ गर्ने भएको छ ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार आज मधेशी मोर्चाका कार्यकर्ताले तराईका जिल्लामा रहेका सबै निर्वाचन कार्यालयहरु घेराउ लागेको हो ।

उनले भने–‘पूर्व निर्धारित कार्यक्रम अनुसार कार्यालय समयमा आज मधेसका सबै निर्वाचन कार्यालयहरू घेराउ गर्दै छौँ ।’

संविधान संशोधनको विधेयक परिमार्जनसहित पारित हुनुपर्ने माग गर्दै आएको मधेसी मोर्चाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

मधेसी मोर्चाले निर्वाचन कार्यालय घेराउ गर्ने तयारी गरेपछि ती जिल्लाहरूमा आज उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।