महानगरमा चुनावी दौडधुप

कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबीच प्रतिस्पर्धा

काठमाडौँ । ३१ वैशाखमा हुने स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल तात्न थालेको छ । सरकार, निर्वाचन आयोगदेखि अन्य सबै सरोकारवाला निकायहरू निर्वाचनको तयारीमा जुटेका छन् ।

सहर–बजार, गाउँघर, चिया–चौतारामा समेत निर्वाचनको चर्चा हुन थालेको छ । १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा आफ्नो अवस्था सुदृढ बनाउन राजनीतिक दलहरू तयारीमा जुटेका छन् ।

निर्वाचन लक्षित घोषणापत्र, प्रतिबद्धता पत्र बनाउनेदेखि उम्मेदवार चयनको मापदण्ड तय गर्ने र उम्मेदवार चयन गर्ने गृहकार्यमा दलहरू जुटेका छन्।

संघीय लोकतान्त्रिक नेपालको संविधान जारी भएपछि पहिलोपटक हुनलागेको निर्वाचनबाट ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिकामा जनप्रतिनिधि चयन हुनेछन् । त्यसैले निर्वाचनको रौनक राजधानीदेखि विकट गाउँघरसम्मै चढेको छ ।

देशको राजधानी काठमाडौं र उपत्यकाभित्रकै ललितपुर महानगरपालिकाको मेयर–उपमेयर को बन्लान् भन्ने चौतर्फी चासो देखिन्छ । अझ विशेष त काठमाडौंको मेयर को बन्लान् भन्ने कौतुहलता छ ।

कांग्रेसमा मेयरका लागि तीनजनाले आकांक्षा

काठमाडौं महानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका लागि तीनजनाले आकांक्षा देखाएका छन् । नरोत्तम वैद्य, प्रगति रञ्जित, राजुराज जोशीले मेयरका लागि आकांक्षा देखाएका हुन् ।

उनीहरूले टिकट हात पार्न लबिङ गरिरहेका छन् । तीनजनामध्ये जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन् । उनी पौडेलपक्षीय मानिन्छन् । वैद्य र रञ्जित संस्थापन पक्षका हुन् ।

नेता कृष्ण सिटौला पक्षले स्वास्थ्यमन्त्री गगन थापालाई उम्मेदवार बनाउन चाहे पनि उनले आफ्नो कुनै आकांक्षा नरहेको बताएका छन् । थापा काठमाडौं क्षेत्र नं ४ का प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

केन्द्रबाट उम्मेदवारसम्बन्धी मापदण्ड आइनपुगेकाले मेयरको टिकट कसलाई दिने भन्नेबारे जिल्ला समितिमा छलफल नभएको काठमाडौंका पूर्वसभापति तथा सांसद ध्यानगोविन्द रञ्जितले बताए ।

ललितपुरमा ४ आकांक्षी;   ललितपुर महानगरपालिकामा कांग्रेसका तर्फबाट चारजनाले मेयरमा आकांक्षा देखाए पनि पार्टीका उम्मेदवारका विषयमा कुनै छलफल भएको छैन । जिल्ला पार्टी सभापति मदन अमात्य लामो समयदेखि मुलुकबाहिर रहेकाले बैठकसमेत बस्न नसकिरहेको ललितपुर क्षेत्र नं १ का सांसद उदयशमशेर राणाले बताए ।

महानगरमा मेयरका लागि श्रीबाबु महर्जन, प्रेमकृष्ण महर्जन, नवराज महत र भरत न्याछयोले आकांक्षा देखाएर आफ्नो पक्षमा लबिङ गरिरहेका छन् । पार्टी केन्द्रले भने मापदण्ड बनाएपछि मात्रै उम्मेदवार तय गर्ने जनाएको छ । ‘ग्राउन्ड रियालिटी हेरेर उम्मेदवार तय गरिने एक केन्द्रीय सदस्यले बताए ।

नेकपा एमालेमा काठमाडौं र ललितपुरका आकांक्षी

नेकपा एमालेले काठमाडौं र ललितपुर महनागरपालिकाको सम्भावित मेयर र उपमेयरको उम्मेदवार चयन गर्न प्रारम्भिक गृहकार्य सुरु गरेको छ । औपचारिक छलफल र सिफारिस भइनसके पनि राजधानी काठमाडौंलाई जित–हारको प्रतिष्ठा बनाउँदै एमालेले सम्भावित उम्मेदवारका विषयमा अनौपचारिक तहमा छलफल सुरु गरेको हो ।

यद्यपि, औपचारिक छलफल भने एक सातापछि मात्रै सुरु हुने केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज सावित्रा भुसालले बताइन् ।

एमालेले शीर्ष नेताहरूको योजनाअनुसार नै काठमाडौं महानगरपालिकाको मेयरमा प्रबल दाबेदार उम्मेदवारका रूपमा सचिव योगेश भट्टराईको नाम चर्चामा ल्याएको छ ।

प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराई राम्रो संगठकका साथै विद्यार्थी राजनीतिदेखि नै काठमाडौंमा सक्रिय रहेकाले उनलाई दाबेदारको पहिलो सूचीमा अघि सारिएको स्थायी समितिकै एक सदस्यले बताए ।

भट्टराईसँगै पोलिटब्युरोका वैकल्पिक सदस्य तथा राजधानी कमिटीका पूर्वइन्चार्ज सानु श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ, काठमाडौंका सचिव विद्यासुन्दर शाक्य र जिल्ला कमिटी सदस्य वसन्त मानन्धरको नाम पनि एमाले पंक्तिमा छलफलमा आएको छ ।

ललितपुरमा दुई आकांक्षीः ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट हरिकृष्ण व्यञ्जनकार, प्रेम महर्जन र ज्ञानेन्द्र शाक्य प्रबल दाबेदार देखिएका छन् । तीमध्ये व्यञ्जनकार जिल्ला अध्यक्ष तथा महर्जन २ नम्बरका पूर्वअध्यक्ष तथा ज्यापु समाजका अध्यक्ष र शाक्य जिल्ला सदस्य हुन् ।

माओवादी केन्द्रका आकांक्षी

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले काठमाडौं महानगरपालिकामा कसलाई उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय गरिसकेको छैन । तर, हितमान शाक्य (सुमन), रेणु दाहाल र सर्वोत्तम डंगोलको नाम मेयरका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ।

शुक्रबार जिल्ला संगठन समितिले २० गतेभित्र महानगरका वडा अध्यक्षका सम्भावित उम्मेदवार तथा २५ चैतभित्र नगरपालिकाका उम्मेदवारको नाम प्रदेशसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

चर्चामा रहेका शाक्य माओवादी केन्द्रका ३ नम्बर प्रदेश इन्चार्ज छन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी काठमाडौं ६ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

रेणु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री हुन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी थिइन् । तर, कांग्रेस उम्मेदवार प्रकाशमान सिंहसंग पराजित भएकी थिइन् ।

सर्वोत्तम डंगोल काठमाडौं क्षेत्र नम्बर ८ बाट संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनी पनि पराजित भएका थिए । काठमाडौंका रैथाने भएका कारण काठमाडौं महानगरपालिकाको मेयरमा उनको चर्चा भएको हो ।

ललितपुरमा पाँच आकांक्षीः ललितपुरमा मेयरका लागि माओवादी केन्द्रका पाँचजनाको चर्चा छ । सरोज सिंह, बाबुराजा बज्राचार्य, दीपेश महर्जन, बुद्धलक्ष्मी महर्जन र मञ्जली शाक्य सम्भावित उम्मेदवार देखिएका छन् । कतैकतै ललितपुर महानगरपाकिलाको मेयरमा पार्टी प्रवक्ता पम्फा भुसालको नाम पनि चर्चामा आएको छ ।

राप्रपाबाट आकांक्षी

राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयरका दाबेदार दुईजना देखिएका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि २०६२ सालमा गराएको स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका राजाराम श्रेष्ठ र पार्टी सहमहामन्त्री राजेन्द्र श्रेष्ठ मेयरका आकांक्षी देखिएका छन् ।

त्यसैगरी, ललितपुर महानगरमा भने पार्टीको नगर अध्यक्ष नरेश श्रेष्ठले आकांक्षा देखाएका छन् । mराजाराम श्रेष्ठ साथीहरुले मलाई काठमाडौंको मेयरमा उम्मेदवारी दिन दबाब दिएका छन् । अहिले निर्वाचन निकै खर्चिलो भएकाले के गर्ने भन्ने सोचमा पनि छु । मैले इच्छा देखाएको अवस्थामा सायद अरू साथीले दाबी गर्छन् भन्ने लाग्दैन ।

काठमाडौंमा यसअघि कस–कसले जिते

०४९ मा पहिलोपटक स्थानीय निर्वाचन भएको थियो । काठमाडौंको चुनावमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्यो । कांग्रेसले मेयरमा पिएल सिंहलाई उम्मेदवार बनाएको थियो भने एमालेका तर्फबाट राजेन्द्र श्रेष्ठ उम्मेदवार थिए । निर्वाचनमा श्रेष्ठलाई पराजित गर्दै सिंह काठमाडौंको पहिलो निर्वाचित मेयर बने ।

पाँच वर्षपछि ०५४ सालमा पनि काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा भयो । कांग्रेसले मनमोहन भट्टराईलाई उम्मेदवार बनायो भने एमालेले केशव स्थापितलाई उठायो । भट्टराई काठमाडौंको कोर एरियाभन्दा बाहिरका प्रतिनिधि थिए ।

स्थापित काठमाडौंका रैथाने थिए । यसपटक महानगरवासीले एमालेका उम्मेदवारलाई रोजे । भट्टराईलाई झन्डै ३६ हजार मतअन्तरले पराजित गर्दै स्थापित मेयर बने । स्थापितले करिब ८६ हजार मत ल्याएका थिए ।

मेयरमा मेरो दाबेदारी छैनः गगन थापा

म काठमाडौं महानगरपालिकाको मेयर लड्न चाहन्छु भन्ने आसयका साथ विभिन्न माध्यममा चर्चा भइरहेका छन् । यसमा सत्यता छैन । अहिले सांसदको जिम्मेवारीमा छु । यो ठूलो जिम्मेवारी हो । त्यसमाथि देशको एउटा जिम्मेवार मन्त्रीका रूपमा पनि म काम गरिरहेको छु ।

त्यसैले मेयरका लागि उम्मेदवारी दिने भन्ने विषय म सोच्न पनि सक्दिनँ । मभन्दा उपयुक्त एकसे एक साथीहरू पार्टीमा हुनुहुन्छ । उहाँहरूले ठाउँ पाउनुपर्छ भन्ने मेरो स्पष्ट विचार छ ।

हामी कस्तो व्यक्ति उठाउने भन्ने विषयमा छलफलमा लागिरहेका छौँ । अहिले नाम जुरिसकेको छैन । तर, जसले समग्र काठमाडौं र यहाँको वस्तुस्थितिलाई राम्रोसँग बुझेको छ, यहाँको विकासको भिजन बोकेको छ, त्यस्तो व्यक्ति काठमाडौंलाई मेयरका रूपमा चाहिएको छ ।

मुलुकको राजधानी भएकाले काठमाडौं महानगरपालिकाको मेयर हुने अपेक्षा राख्नु नौलो कुरा होइन । तर, नौलो विषय होइन भन्दै गर्दा काठमाडौंलाई फिट नहुने व्यक्ति उठाएर कुनै अर्थ राख्दैन । काठमाडौं राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको केन्द्र हो ।

देशभरि जति पनि नगरहरू बनेका छन् उनीहरूले विकासको ढाँचा हेर्ने भनेको काठमाडौंलाई नै हो । काठमाडौंले आपूmलाई कसरी विकास गर्न सक्छ त्यसलाई अरू नगरहरूले पछ्याउने काम गर्छन् । त्यसैले सहरी विकासका बारेमा रुचि भएको, यसका बारेमा जानकार भएको व्यक्ति काठमाडौंको मेयरमा आवश्यक छ । यो कुनै दैनिक प्रशासन चलाएको जस्तो विषय होइन ।

काठमाडौं क्यापिटल सिटी भएका कारण संसारमा यसको बेग्लै नियम रहेको हुन्छ । क्यापिटल सिटीका मेयरहरूले अन्य सिटीहरूसँग सम्बन्ध सुधार गरेको पाइन्छ । यस्तो हाम्रामा पनि आवश्यक हुन्छ ।

यसो गर्न सकेको खण्डमा काठमाडौंले ठूलो फाइदा लिन सक्छ । क्यापिटल सिटीको मेयर बन्दै गर्दा ठूला अवसर र चुनौतीसँग खेल्न सक्ने व्यक्ति आवश्यक पर्छ । केही कुरा लिन लड्न सक्ने र गर्न पनि सक्ने मेयर अहिले काठमाडौंलाई चाहिएको छ । काठमाडौंको विकास फिजिकल मात्रै होइन, यो आफंैँमा सांस्कृतिक धरोहर बोकेको सहर पनि हो ।

यसका केही मौलिक संस्कृतिहरू रहेका छन् । खासगरी काठमाडौंका मुख्य जातिका रूपमा नेवार समुदाय छ । काठमाडौंमा रहेका फरक–फरक जातिको संस्कृतिलाई बचाउन सकिएन भने त्यसको कुनै महत्व रहँदैन ।

त्यसैले मेयर बन्दै गर्दा यस्ता कुराहरूलाई आत्मसात् गर्ने व्यक्ति पनि आवश्यक पर्न जान्छ । संस्कार, संस्कृतिभन्दा विकास चाहेर मात्रै काठमाडौंको मेयर बन्न सकिँदैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।