आज घोडेजात्राः विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

जङ्गबहादुरको घोडाको समेत चर्चा

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा विविभ कार्यक्रम आयोजना गरी घोडेजात्रा मनाइँदैछ। किंवदन्ती अनुसार पटुण्डी नामका राक्षसले सहरका बालबालिकालाई दुःख दिन थालेपछि घोडाको टापले राक्षसलाई दबाएर राखिएको विश्वासमा यो जात्र मनाउने गरिन्छ ।

आज काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडादौड र अश्वकला प्रदर्शन गर्ने तयारी समेत गरेको छ । त्यसैगरी ललितपुरको बालकुमारीमा पनि एउटा आँखा नदेख्ने कानो एकल घोडालाई सर्वसाधारणले हाहाहुहु गर्दै धपाएर यो जात्रा मनाउने बताइएको छ ।

विशेष गरेर यो दिन जङ्गबहादुरको घोडा र त्यसको चर्चा गरि यो पर्व उपत्यकाका नेवारी समुदायका मानिसहरुले मनाउने गर्दछन । आजको दिन जङ्गबहादुरको बहादुरीको प्रशंग सम्झदै रमाइलो समेत गरिन्छ । घोडे जात्रा मनाइरहेकाहरू जडले मातेपछि जङ्गबहादुरको घोडासमेत खरिद गर्छु भन्ने अदम्य साहस गर्दै आपसमा रमाइलो समेत गर्दछन ।

आजकैदिन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले घोडासहित त्रिशुलीमा हाम फालेको, फ्रान्समा नेपोलियन बोनापार्ट समक्ष प्रस्तुत भएको घोडादौडमा प्रथम भएको घटनाको स्मृति गराउने जङ्गको टुँडिखेलमा रहेको शालिक अवलोकन गर्ने प्रचलन पनि विधमान रहेको छ ।

यसै दिनदेखि रायो, चमसुर, पालुङ्गो, लसुन, छ्यापी, तोरी लगायतका हरिया सागपातको स्वाद क्रमशः हराउँदै जान्छ भनिन्छ । साथै, घोडेजात्राकै दिन फर्सी, लौका, घिरौँला जस्ता लहरे तरकारीको बिउ रोप्ने चलन समेत रहेको पाइन्छ ।

नेपाली सेनाको क्याभलरी युनिटबाट रिसल्लासहित आएको फौजले न्युरोडको जुद्ध शालिक सामुन्ने रहेको रेवन्त पीठमा बिहानै बोका बली दिएपछि उपत्यकामा घोडेजात्रा सुरु हुने परम्परा रहेको छ ।