२९ सदस्यीय कांग्रेस कार्यसम्पादन समिति अनुमोदन

काठमाडौँ । कांग्रेसले २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठनका लागि प्रस्ताव पेस गरेका थिए । देउवाले प्रस्तुत गरेको प्रस्ताव कार्यसमितिले पास गरेको हो ।

विधानमा २२ सदस्यीय, तर गठन २९ सदस्यीय

कांग्रेसको विधानमा २२ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने उल्लेख छ । तर, पार्टी विधान र नियमावलीमा रहेको व्यवस्थाविपरीत कार्यसम्पादन समिति गठनसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ ।

कांग्रेस विधानको धारा २९ को उपधारा ३ मा ‘केन्द्रीय कार्यसमितिले आफूमध्येबाट केन्द्रीय कार्यसम्पादन समितिका लागि बढीमा २२ जना सदस्य चयन गर्नेछ’ भन्ने उल्लेख छ ।

त्यस्तै, नियमावलीको नियम १४ मा ‘केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय सभापतिले बढीमा २२ जना सदस्यका लागि केन्द्रीय सदस्यहरूमध्येबाट केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गर्नेछन् र बैठकबाट अनुमोदन हुनुपर्नेछ’ भनिएको छ ।

पार्टी सभापति अध्यक्ष रहने २९ सदस्यीय कार्यसम्पादन समितिमा पदाधिकारी उपसभापति एक, महामन्त्री दुई, कोषाध्यक्ष एक र सहमहामन्त्री एक पदेन सदस्य रहने व्यवस्था विधानले गरेको छ ।

व्यावहारिक रूपमा सभापतिका निकटतम प्रतिद्वन्द्वीलाई नेताको हैसियतमा पदाधिकारी मानिए पनि विधानमा उल्लेख नभएकाले नेता रामचन्द्र पौडेललाई पनि कार्यसम्पादन समितिमा पदेन सदस्यका रूपमा राखिएको छैन ।

कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा सभापतिपछिको वरीयतामा पौडेलको नाम राखिए पनि पदेन सदस्य नराखी सदस्य मात्रै उल्लेख छ ।

प्रकाशमानले सचेत गराए विधानको व्यवस्था

बैठकमा नेता प्रकाशमान सिंहले सभापति देउवाले कार्यसम्पादन समितिमा २६ सदस्यको नाम प्रस्ताव गरेपछि विधानमा २२ जना उल्लेख भएको भन्दै सचेत गराएका थिए ।

जवाफमा देउवाले भने–‘हो विधानमा २२ जना छ । मैले पछि पदाधिकारी पनि यही भित्रबाट बनाउने गरी २६ जनाको नाम सिफारिस गरेको छु, सदस्यहरूले त्यसैगरी बुझिदिनुहोला ।’

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बैठकमा आफ्नो लिखित धारणा राख्दै कार्यसम्पादन समितिमा वरिष्ठहरू रहेसम्म आफ्नो पुस्ता पुग्न नसक्ने भन्दै व्यंग्य गरेका थिए । ‘अहिले त हामीले कार्यसम्पादन समितिमा स्थान पाउने कुरै भएन, हामीभन्दा वरिष्ठहरूले राजनीतिबाट सन्न्यास लिएपछि मात्रै हाम्रो पालो आउँछ, त्यसवेलासम्म हाम्रो अवस्था के हुने हो’– उनले भने ।

पार्टी वरीयतामै किचलो

सभापति देउवाले वरीयताका आधारमा पार्टीको वेबसाइटमा रहेको १ देखि २९ नम्बरसम्मकालाई सदस्य बनाएका छन् । तर,१३औँ महाधिवेशनपछि देखिएको विवाद अहिलेसम्म समाधान भइसकेको छैन ।

महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि निर्धारण गरिएको वरीयताक्रममा असन्तुष्टि जनाउँदै अहिलेसम्म केन्द्रीय कार्यसमितिको माइन्युटमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री डा. रामशरण महत र केन्द्रीय सदस्य रमेश लेखकले हस्ताक्षर गरेका छैनन् ।

त्यही विवाद मिलाउन सभापति देउवाले केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय आनन्दप्रसाद ढुंगाना र फरमुल्लाह मन्सुर सदस्य रहेको वरीयताक्रम निर्धारण समिति बनाएका थिए ।

त्यो समितिले अझै प्रतिवेदन बुझाएको छैन । ‘वरीयताक्रम निर्धारणका लागि हामीलाई जिम्मेवारी दिइएको थियो, हामीले अझै प्रतिवेदन बुझाएका छैनौँ,’ –सदस्य ढुंगानाले भने ।

बैठकमा देउवाका नौ एजेन्डा

लामो समयपछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि सभापति देउवाले नौवटा एजेन्डा प्रस्तुत गरेका थिए । केन्द्रीय सदस्य एनपी साउदका अनुसार तिनै नौ एजेन्डामा केन्द्रित रहेर सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

देउवाले कार्यसम्पादन समिति गठन, ४२ विभाग गठन, स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी समिति गठन, स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन, गाउँपालिका र नगरपालिकाअनुसार पार्टीको सांगठनिक संरचना कसरी निर्माण गर्ने, स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवार चयनको मापदण्ड निर्माण, एकमहिने गाउँ अभियान अभियान सञ्चालनका क्रममा जिल्ला जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिबाट प्रतिवेदन पेस गर्न दिने, पार्टीको साधारण सदस्यता, क्रियाशील सदस्यतालगायत सम्बन्धित विषयमा आवश्यक संशोधन र परिमार्जन गरी प्रंकाशित गर्ने सम्बन्धमा र विविध गरी नौ एजेन्डा राखेका थिए ।

केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक पौडेल

कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा नेता रामचन्द्र पौडेल छन् । समिति सदस्यहरू आवश्यकताअनुरूप पछि चयन गरिने केन्द्रीय सदस्य साउदले जानकारी दिए ।

घोषणापत्र तयारी समिति गठन

बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र निर्माणका लागि केन्द्रीय सदस्य महेश आचार्य संयोजक तोकिएका छन् । समितिमा सदस्यहरू आवश्यकताअनुरूप पछि चयन गरिने केन्द्रीय कार्यालयले जनाएको छ ।

४२ विभाग कायम गर्ने

केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रमा ४२ विभाग कायम गर्ने निर्णय गरेको छ । १२औँ महाधिवेशनसम्म कांग्रेसमा ३२ विभाग थिए । १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका सभापति सुशील कोइरालाले विभागको संख्या बढाएर ४२ पुर्‍याएका थिए ।

पछि उनले बढाएका विभागलाई केन्द्रीय समितिले अनुमोदन गरेको थियो । तर, अहिलेसम्म विधानमा उल्लेख गरिएको छैन । अहिले पनि ४२ वटै विभाग कायम गर्ने निर्णय बैठकले गरेको हो ।

आवश्यक परे त्यो संख्यामा पनि थप गर्न सकिने निर्णय बैठकले गरेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा २७ केन्द्रीय सदस्यले देउवाले प्रस्तुत गरेका एजेन्डामा आ–आफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रम नसकिएकाले बैठक सोमबारका लागि पनि बोलाइएको छ ।

यस्तो छ कांग्रेसको कार्यसम्पादन समिति

शेरबहादुर देउवा (सभापति), डा. शशांक कोइराला (महामन्त्री), सीतादेवी यादव (कोषाध्यक्ष), रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी साउद ।

कसले के भने

खड्का र कोइरालाले राखे लिखित धारणाः केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वय खुमबहादुर खड्का र डा. शेखर कोइरालाले लिखित धारणा राखेका थिए ।

‘संविधानसभाबाट संविधान जारी भइसकेपछि पनि मुलुकमा स्थायित्व र शान्ति प्राप्त गर्न नसकी अन्योल र अराजकता कायम रहेको हुँदा देशलाई निकास दिन नेपाली कांग्रेसले ऐतिहासिक कदम चाल्नुपर्ने अवस्था उत्पन्न भएकोतर्फ ध्यानाकर्षण गराउन चाहन्छु,’–खड्काले भने–‘मधेसी मोर्चाको असन्तुष्टि र विरोधलाई सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसका लागि कांग्रेस समयमै सजग हुन जरुरी छ भने अर्को महŒवपूर्ण हिन्दू राष्ट्रको विषयलाई विधिवत टुंगो लगाएर देशमा उत्पन्न तनाव र विवाद निरूपण गर्नु उपयुक्त हुने मेरो ठहर छ ।’

अर्का केन्द्रीय सदस्य डा.कोइरालाले चार पेज लामो लिखित धारणामा भनेका छन्, ‘तपाई पुराना नेताहरूले सन्न्यास नलिएसम्म म कार्यसम्पादन समितिमा नपर्ने भएँ । वरिष्ठताको कुरा गर्ने हो भने शेरबहादुर देउवाभन्दा पहिले केन्द्रीय सदस्य बनेका खुमबहादुर खड्का किन वरिष्ठ नहुने राजदूत नियुक्तिका विषयमा बाहिर आएको विवाद के हो त्यस विषयमा पार्टी नेतृत्वले स्पष्ट जवाफ दिनुपर्छ ।’

मधेसका माग पूरा गर्न सरकार प्रयासरतः विमलेन्द्र निधि

अघिल्लो एमाले अध्यक्ष केपी ओली नेतृत्वको गठबन्धन सरकार ढालेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठबन्धन सरकार निर्माणका वेला हामीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग तीनबुँदे सहमति गरेका थियौँ ।

त्यो सहमतिमा उल्लेख भएबमोजिम मधेसी मोर्चाले हामीलाई गर्नुपर्ने सहयोग गरिसक्यो । तर, संविधान संशोधन गरी मधेसका माग संविधानमा समाहित गर्न सकिरहेका छैनौँ । त्यसका लागि सरकार प्रयासरत छ ।

निर्वाचनअघि सहमति असम्भवः कृष्णप्रसाद सिटौला

संविधान संशोधनका विषयमा देखिएका समस्या औँल्याउन बनाइएको कार्यदलको म संयोजक छु । संयोजकका हैसियतमा मधेसका समस्या समाधान गरी कसरी घोषित मितिमा स्थानीय निर्वाचन सम्पन्न गर्नेमा ध्यान केन्द्रित गरेर कार्यदल संवादमा जुटिरहेको छ ।

एक्ला एक्लै भेट्दा, अनौपचारिक रूपमा कुराकानी गर्दा असन्तुष्ट दुवै पक्ष केही लचिलो भएजस्तो देखिन्छन् । तर, संयुक्त रूपमा बस्दा दुवै पक्ष चर्को कुरा गर्छन् । निर्वाचनअघि समस्याको समाधान निकाल्न सकिन्छ वा सकिँदैन, यसै भन्न सकिने अवस्था छैन ।

सद्भावप्रति साथीहरूलाई धन्यवादः नरहरि आचार्य

स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण म केन्द्रीय समिति बैठकमा एक वर्ष बढी उपस्थित हुन सकिनँ । स्वास्थ्यमा केही मात्रामा मात्रै सुधार भएकाले उपस्थित हुन आएको छु ।

राजनीतिक रूपमा मैले राख्नुपर्ने केही विषय छैन । मेरो स्वास्थ्यलाई ख्याल राखेर पार्टी र साथीहरूले देखाएको सहानुभूति र सद्भावप्रति धन्यवाद दिन चाहन्छु । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।