चितवनबाट शुक्लाफाँटामा पाँचवटा गैँडा सारिने

काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा वन्यजन्तु आरक्षमा एकसिंगे गैँडा स्थान्तरण गर्ने भएको छ ।

चितवनबाट शुक्लाफाँटामा चार पोथी र एक भाले गैँडा स्थान्तरण गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।

गैँडा स्थान्तरणका लागि विज्ञ सम्मिलित प्राविधिक टोली चितवन पुगेको छ । टोलीले गैँडाको छनोट, बासस्थानलगायत विविध विषयमा अध्ययन गर्ने खड्काले जानकारी दिए ।

गैँडा लिन जाने जंगलसम्म बाटो बनाउने र गैँडा स्थान्तरण गर्दा प्रयोग हुने विशेष खोरसमेत बनाउने काम भइरहेको छ । गैँडाको सबै अध्ययन भइसकेपछि आगामी २१ चैतमा गैँडा स्थान्तरण गरिने भएको छ ।

बर्दियामा पनि गैँडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जका गैँडा शुक्लाफाँटापछि बर्दियामा स्थानान्तरण गरिने भएको छ । बर्दियामा एकसिंगे गैँडा कम रहेकाले स्थान्तरण गर्न लागिएको हो ।

विगतमा स्थानान्तरण गरिएका गैँडाबाट तुलनात्मक रूपमा संख्या बढाउन सकिएको छैन । विभागले बर्दियामा तीन पोथी र दुई भाले गैँडा स्थानान्तरण गर्ने तयारी गरेको छ ।

कुन–कुन ठाउँमा कति गैँडा

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्वदेशमै अहिलेसम्म ९२ गैँडाको स्थानान्तरण गरिसकेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट ती गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सारिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ८८ गैँडा र शुक्लाफाँटामा चारवटा गैँडा स्थानान्तरण गरिसकिएको छ । हाल नेपालमा कुल ६ सय ४५ गैँडा छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।