२२७ कामदार अझै विदेशी जेलमा

काठमाडौँ । ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २२७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।

हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ ।

यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएरलगायत अन्य सामान्य अभियोगमा के–कति नेपाली पक्राउ परेका छन् भन्ने तथ्यांक सरकारसँग छैन ।

त्यस्ता अभियोगमा नेपालीहरू पक्राउ पर्ने र छुट्नेक्रम हरेक दिन सयौँको संख्यामा रहेकाले पनि तथ्यांक राख्न आवश्यक नरहेको कन्सुलर सेवा विभागले जनाएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार विदेशका विभिन्न जेलमा रहेका नेपाली र तिनीहरूलाई लगाइएको अभियोग र सुनाइएको सजाय यस्तो छ ।

 साउदी अरेबियाको जेलमा ६९ नेपाली

रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका नेपालीमध्ये ६९ जना जेल परेका छन् । रियादस्थित नेपाली राजदूतावासले २८ र जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले आ–आफ्नो क्षेत्रमा ४१ जना नेपाली जेलमा रहेको तथ्यांक दिएका छन् ।

साउदी अरेबियामा मृत्युदण्ड सजाय पाएर जेलमा रहेका नेपाली

१. मनोजकुमार पाण्डे , महोत्तरी ड्रिल मेसिनले किच्दा पाकिस्तानी नागरिकको मृत्यु
२. दिलबहादुर कामी, ठेगाना नखुलेको पर्वतका कृष्ण कुस्मेलीको हत्या गरेको अभियोग
३. शान्तबहादुर पुन, पर्वत साउदी नागरिकको हत्या गरेको अभियोग

साउदी अरेबियामा ब्लडमनी तिर्न नसकेर जेलमा रहेका नेपाली

१. धनबहादुर थापा गाडी दुर्घटनाबाट व्यक्तिको मृत्यु ९० लाख रुपैयाँ ब्लडमनी
२. रामहरि कुँवर कम्पनीमा चोरी गरेको ४५ लाख रुपैयाँ बिगोदाबी

मृत्युदण्ड सजाय पाउने नेपाली थपिनसक्ने

साउदी अरबमा जेलजीवन बिताइरहेकामध्ये पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएकाहरू ६ जना छन् । त्यसमध्ये मादक पदार्थ कारोबार गरेको अभियोगमा रुपन्देहीकी ललिता दमाईंलाई पनि ३० महिनाको जेलजीवन सुनाइएको छ ।

उनको बच्चासमेत भएकाले आधा सजाय घटाइएको र एक सय २० कोर्राको सजाय त्यहाँको अदालतले सुनाएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

साउदी अरबमा भारतीय, फिलिपिनी, अफगानी, पाकिस्तानी, सिरियन, साउदी नागरिकको हत्या अभियोगमा पक्राउ परेका कतिपय नेपालीको मुद्दा अझै पनि विचाराधीन छ ।

अदालतले उनीहरूलाई मृत्युदण्डको सजायदेखि ब्लडमनीसम्मको सजाय सुनाउनसक्ने नेपाली राजदूतावासले जनाएको छ । साउदी अरबकै जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले दिएको जानकारीअनुसार साइबर क्राइमअन्तर्गत पक्राउ परेका एक नेपाली लाई दुई वर्ष ६ महिना जेल र चार सय कोर्रा सजाय सुनाइएको छ ।

गम्भीर प्रकृतिका अपराध गर्ने र ठूलो सजाय सुनाइएकाको तथ्यांक राखिए पनि कम्पनी तथा मालिकसँग सम्बन्धित गुनासो लिएर दैनिकजसो दूतावास पुग्नेको गुनासो अभिलेखीकरण गर्न नसकिने कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले बताए ।

बहराइनको जेलमा सात नेपाली

बहराइनमा पनि सातजना नेपाली जेलमा रहेका छन् । कन्सुलर सेवा विभागको तथ्यांकअनुसार बहराइनमा नेपाली नागरिक श्यामकुमार राईको हत्या गरेको अभियोगमा खोटाङका गैनबहादुर राईलाई जन्मकैद सजाय सुनाइएको छ ।

उनको जन्मकैदको सजाय सन् २०२४ मा भुक्तान हुनेछ । इन्डोनेसियाली महिलाको हत्या प्रयासमा बंगलादेशी नागरिकलाई सहयोग गरेको अभियोगमा म्याग्दीका दिलीप परियारलाई १५ वर्षको जेल सजाय तोकिएको छ ।

आफ्नै साथी दीपेन्द्र बस्नेतको हत्या गरेका म्याग्दीका तिलकुमार गर्जुवालाई पनि जन्मकैदको सजाय तोकिएको छ । उनी सजाय भुक्तान गरी सन् २०४० मा जेलमुक्त हुनेछन् ।

महिलामाथि खराब नजरले हेरेको, महिलालाई अश्लील शब्द प्रयोग गरेको, मादक पदार्थको कारोबार तथा सेवन गरेकोलगायत अभियोग लगाइएका नेपालीलाई तीन वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

दक्षिण कोरियाको जेलमा दुईजना नेपाली

एउटै कोठामा बस्ने नेपाली नागरिकको हत्या गरेका अभियोगमा भोजपुरका पर्शुराम राईलाई दक्षिण कोरियाको अदालतले १३ वर्षको कैद सजाय तोकेको छ ।

त्यस्तै नेपाली सहकर्मीसँग झगडा गरी दुईवटा औँला काटेको अभियोगमा झापाका शेखर पौडेल पनि दक्षिण कोरियामा पक्राउ परेका छन् ।

कुवेतमा ६२ जना नेपाली जेलमा

कुवेतमा लागुऔषधको सेवन र कारोबारलाई ठूलो अपराध मानिन्छ । त्यहाँ पक्राउ परेकामध्ये अधिकांश नेपाली लागुऔषध सेवन र कारोबारको मुद्दा खेपिरहेका छन् ।

कुवेतको जेलमा रहेका नेपालीमध्ये ५३ जना केटा र नौजना केटी छन् । हत्याको आरोपमा समेत कुवेतको जेलमा केही नेपालीले सजाय काटिरहेका छन् ।

मलेसियाको जेलमा १३ जना

मलेसियाको जेलमा रहेका १३ नेपालीमध्ये सबैजना केटा छन् । तीमध्ये आठजना हत्या अभियोगमा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध परेको मुद्दा विचाराधीन रहेकाले केहीलाई मृत्युदण्डको सजायसमेत हुनसक्छ ।

हत्या अभियोगमा पक्राउ पर्ने नेपालीमा रूपेशकुमार कापर, कुमार तामाङ, नेत्रबहादुर प्रधान, सुजन श्रेष्ठ, सुरेन्द्र मुखिया, सुजन दाहाल, कमल तामाङ र सुरजबहादुर सुनार छन् ।

ओमनमा तीनजना नेपाली जेलमा

ओमनको जेलमा भने तीनजना नेपाली मात्र जेलमा छन् । त्यसमध्ये सर्लाहीका पूर्णबहादुर मगर चोरीको आरोपमा, काठमाडौंकी विनिता राना ‘स्पोन्सर’को बच्चालाई आइरनले पोलेको आरोप र ठेगाना नखुलेका दोङ याङजेनको फर्जी भिसा प्रयोगको आरोपमा जेलजीवन बिताइरहेका छन् ।

कतार जेलमा ५२ जना नेपाली

कतारमा ५२ जना नेपालीले जेलजीवन बिताइरहेका छन् । त्यसमध्ये तीनजनालाई जन्मकैद सुनाइए पनि हत्या अभियोगमा पक्राउ परेकादेखि बलात्कार, चोरीलगायतको अभियोगमा पक्राउ परेकामाथिको अदालती कारबाही चलिरहेको छ । कतारको जेलमा हत्या अभियोगमा रहेका नेपालीमध्ये केहीलाई मृत्युदण्डको सजाय हुनसक्ने जनाइएको छ ।

युएई जेलमा १९ जना नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)का विभिन्न जेलमा १९ जना नेपाली छन् । हत्या अभियोगदेखि चोरी, मदिरा सेवन, सवारी दुर्घटनालगायतको अभियोगमा पक्राउ परेकामध्ये केहीको मुद्दा विचाराधीन छ भने केहीलाई ब्लडमनी, जन्मकैददेखि मृत्युदण्डसम्मको सजाय सुनाइएको छ ।

हत्या अभियोगमा पाँचजना नेपाली युएई जेलमा छन् । जसमध्ये दार्चुलाका अमरबहादुर बमलाई मृत्युदण्डको सजाय सुनाइएको छ । त्यस्तै पाल्पाका चुराबहादुर गह र नवलपरासीका भुवानन्द भट्टराईलाई जन्मकैदको सजाय सुनाइएको छ।

तनहुँका पूर्णबहादुर गुरुङ, इलामका अम्रिका देवान, झापाका विष्णुप्रसाद उप्रेती र तेह्रथुमका खड्गबहादुर जोगी पीडित पक्षले मागदाबी गरेको ब्लडमनी रकम तिर्न नसक्दा जेलमा छन् ।

दैनिक आठ सय जान्छन्, चारजनाको शव आउँछ

वैदेशिक रोजगारीका लागि दैनिक सातदेखि आठ सय नेपाली जाने गरेका छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसियामा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी रमा भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार आर्थिक वर्ष ०७१÷७२ सम्म वैदेशिक रोजगारीका लागि दैनिक १५ सय नेपाली जाने गरे पनि गत वर्षदेखि यो क्रम घटेको छ ।

नेपाल एयरलाइन्स कार्गो डेलिभरी अर्डर सेक्सनका कर्मचारी मुरारीप्रसाद अधिकारीका अनुसार एकैदिन १० वटासम्म शव नेपाल आउने गरेको छ । दैनिक सरदरमा चारजनाको दरले विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल आउने गरेको उनले बताए ।

विदेशी अस्पतालमा नेपाली

कतारमा करिब सातजना नेपाली कोमामा उपचाररत रहेको सरकारलाई जानकारी भए पनि अन्य कुन–कुन देशमा के–कति नेपाली आइसियू र कोमामा उपचाररत छन् भन्नेबारे थाहा नभएको कन्सुलर सेवा विभागले जनाएको छ ।

विदेशी अस्पतालमा उपचाररत नेपालीलाई नेपाल ल्याउन उपचाररत अस्पतालले समेत नेपालबाट बिरामीको उपचार सम्भव रहेको जानकारीपत्र पठाए मात्र स्वदेश रिफर गर्छ । ्

प्रक्रिया झन्झटिलो र बिरामीलाई विदेशमै उपचार गराउँदा उपचार खर्च कम्पनीले बेहोर्ने हुँदा बिरामीका आफन्तले सकेसम्म विदेशमै उपचार होस् भन्ने चाहन्छन् ।

अन्य मुलुकको तथ्यांक सरकारसँग छैन

अमेरिका, जापान, अस्ट्रेलियालगायतका मुलुकमा पनि नेपाली ठूलो संख्यामा पुगेका छन् । तर, ती देशका जेलमा के–कति नेपाली छन् वा के–कति नेपाली अस्पतालमा गम्भीर दुर्घटनामा परी उपचाररत छन् भन्ने तथ्यांक सरकारसँग छैन ।

तीन वर्षदेखि शव साउदीमा अलपत्र

चितवन खैरहनी नगरपालिका–१३ का सोमप्रसाद सिलवाल पाँच वर्षअघि ड्राइभिङ भिसामा रोजगारीका लागि साउदी अरब गएका थिए ।

उनको भिसाअनुसार दुई वर्ष काम सकेर नेपाल फर्किन एक महिना समय बाँकी थियो । एक दिन साँझ सोमप्रसादसँगै चितवनकै टीकाराम सापकोटा र प्युठानका सतिउल्लाहले मियाँ सँगै बसेर मदिरा सेवन गरे ।

अन्य रिसइबी के थियो खुल्न नसके पनि त्यो मध्यरात प्युठानका सतिउल्लाहले सोमप्रसादको हत्या गरेर मध्य मरुभूमिमा लगेर जलाए ।

आगामी असारमा सोमप्रसादको हत्या भएको तीन वर्ष पूरा हुन्छ । हत्या भएको तीन वर्षसम्म पनि सोमप्रसादको शव नेपाल ल्याउन सकिएको छैन । सोमप्रसादका दाजु नवराज सिलवाल भाइको शव नेपाल ल्याउन अहिलेसम्म धेरैपटक पहल गर्दा पनि नसकेको गुनासो गर्छन् ।

भाइको हत्याबारे दाजु नवराज भन्छछन–‘ बुढा बाआमा छन् । भाई नेपाल फर्किन एक महिना बाँकी थियो । नेपाल आएपछि उसको विवाह गरिदिने सोच थियो । उतै हत्या गरिदिए ।’

तीन दाजुभाइमध्ये कान्छा सोमप्रसादको हत्या भयो भने माइला वैदेशिक रोजगारीकै लागि अहिले दुबई गएका छन् । जेठा नवराज चितवनकै एक विद्यालयको गाडी चलाएर गुजारा चलाउँछन् । नवराज भन्छन्–‘‘अहिलेसम्म हिन्दू परम्पराअनुसार कुनै काजकिरिया गर्न सकिएन । तीन वर्षदेखि हामीले कुनै चाडपर्व मनाएका छैनौँ ।’

सिडमनी दिने घोषणा कार्यान्वयन गर्ने पहल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि गत २३ भदौमा संसद्लाई पहिलोपटक सम्बोधन गर्दै ब्लडमनी अभावका कारण विदेशी जेलमा रहेका नेपालीलाई छुटाउन सरकारले पाँच लाख रुपैयाँ सिडमनी दिने घोषणा गरेका थिए ।

पाँच लाख रुपैयाँ सिडमनी दिने व्यवस्थाका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्नुपरेकाले कार्यान्वयनमा ढिलाइ भएको प्रधानमन्त्री प्रचण्डका विदेश विभागका सल्लाहकार सुशील ढुंगानाले बताए ।

उनले भने–‘त्यसबारे प्रधानमन्त्रीले परराष्ट्र तथा श्रम मन्त्रालयका सचिव तथा विदेश मामिलाका जानकारसँग छलफल गर्नुभएको छ । विदेशी जेलमा रहेका नेपालीलाई नेपाल फर्काउनेबारे प्रधानमन्त्री प्रचण्ड संवेदनशील हुनुहुन्छ । उनीहरूलाई नेपाल फर्काउन आवश्यक पर्ने रकम तिर्नेबारे सरकारले थप गृहकार्य अघि बढाइरहेको छ ।’ यो समाचार आजको नयाँ पत्रिका देनिकमा प्रकाशित छ ।