एसएसबीबाट मारिएका साहको परिवारलाई १० लाख

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मोरङमा एसएसबीको गोली प्रहारबाट मारिएका वासुदेव साहको परिवारलाई १० लाख राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

हिजो बसेको व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले गृह मन्त्रालयमार्फत साहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिइएको जानकारी दिएका हुन् ।

पीडित परिवारले क्षतिपूर्तिको व्यवस्था गर्न केही साताअघि स्थानीय प्रशासनमार्फत गृह मन्त्रालयसँग लिखित आग्रह गरेको थियो । गृह मन्त्रालयले सोमबार नै पीडित परिवारलाई राहत उपलब्ध गराउने तयारी गरेको छ ।

साहलाई गोली हानेर एसएसबीका जवान फरार

११ जेठ ०६७ साँझ ९ बजे भारतको अररिया जिल्लास्थित गरैया गाउँको लैलोखर सीमा सुरक्षा क्याम्पबाट सिभिल पोसाकमा आएका एसएसबीका इन्स्पेक्टर हितेन्द्र सिंह र अर्का एक कन्सटेबल नेपाली प्रहरीसँग विवाद भएको झोकमा नेपालभित्रै पसेर पेस्तोल प्रहार गरी वासुदेव साहको हत्या गरेर भागेका थिए ।

स्थानीय समाजसेवीसमेत रहेका साहलाई तत्काल जिल्ला प्रशासन कार्यालयले सहिद घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने र परिवारलाई क्षतिपूर्ति दिलाउने लिखित प्रतिबद्धता जनाएको थियो । तर, अहिलेसम्म पीडित परिवारले केही पाउन सकेको छैन ।

६ वर्षअघि मोरङको अमाहिबरियातीमा एसएसबीको गोलीबाट मारिएका वासुदेव साहको परिवारलाई आज रकम दिने तयारी भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।