सीमांकनसहित संविधान संशोधन भए निर्वाचनमा जान्छौः अध्यक्ष ठाकुर

मोर्चाको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव पारित भएमात्र निर्वाचनमा जाने बताएका छन् ।

आज राजविराजमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमांकनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने दृढता व्यक्त गरे ।

अध्यक्ष ठाकुरले विगत र अहिलेका सरकारले संविधान संशोधनको प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनप्रति गम्भीर हुन नसकेको आरोप लगाउँदै मोर्चाको माग पूरा नभए आन्दोलनको विकल्प नभएको बताए ।

उनले भने,‘संविधान संशोधन कसरी हुन्छ , त्यो काम सरकारको हो, यसमा सबैले सहयोग र साथ दिनुपर्छ ।’

अध्यक्ष ठाकुरले नेकपा(एमाले)को मेची महाकाली अभियानअन्तर्गत गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीद्धारा मारिएका पाँच जना निर्दोष भएकाले दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरे । रासस