युवा वैज्ञानिक विकल्पले ल्याए मापसेको विकल्प

विकल्पले गरिसके दुई दर्जनभन्दा बढी आविष्कार

पोखरा । पोखराका युवा वैज्ञानिक विकल्प ढुंगानाले मादक पदार्थ सेवन गरेका वेला नचल्ने (स्टार्ट नहुने) मोटरसाइकलको आविष्कार गरेका छन् ।

ढुंगानाले आविष्कार गरेको मापसे सेन्सर जिल्ला ट्राफिक कार्यालय कास्कीको रोहवरमा ग८प ८९४० नम्बरको कालो रङको सुपर स्प्लेन्डर मोटरसाइकलमा प्रयोग गरिएको छ । विकल्पका अनुसार प्रयोग सफल भएपछि ट्राफिक प्रहरी महाशाखाले यसबारे अनुसन्धान गरिरहेको छ ।

कसरी गरिन्छ मापसे परीक्षण

विकल्पले हेल्मेट र मोटरसाइकलमा राखिने अल्कोहल डिटेक्टर सात हजार रूपैयाँसम्मको लागतमा तयार हुने जानकारी दिए । उनका अनुसार हेल्मेटको अगाडि अल्कोहलको गन्धलाई सेन्सर गर्ने मेसिन राखिन्छ र त्यसको सम्बन्ध मोटरसाइकलको इन्जिनमा लगेर जडान गरिन्छ ।

‘रक्सीको गन्ध आउनेबित्तिकै हेल्मेटको सेन्सर इन्जिनमा जान्छ र मोटरसाइकल स्टार्ट हुँदैन,’ विकल्पले भने । उनका अनुसार हेल्मेट र मोटरसाइकलको इन्जिनमा हेल्मेट डिटेक्टर जडान गरिएको हुन्छ । ‘हेल्मेट लगाएर नबसेसम्म मोटरसाइकल स्टार्ट हुँदैन ।

केही भएर चालकले चाबी बन्द नगरी हिँडेमा हेल्मेट र बाइकको दूरी दुई मिटरभन्दा टाढा हुनेबित्तिकै मोटरसाइकल तथा स्कुटर आफैँ बन्द हुने गर्छ,’ उनले भने, ‘हेल्मेटमा राम्रो सम्बन्ध होस् भनेर ओरालो र उकालोका लागि गरी दुईवटा सेन्सर राखिएको हुन्छ ।’

विकल्पले गरिसके दुई दर्जनभन्दा बढी आविष्कार

दुई दर्जनभन्दा बढी सानाठूला आविष्कार गरेका तनहुँस्थायी घर भएका १८ वर्षे विकल्प पोखरामा दस जोड दुई अध्ययनरत छन् । कक्षा ६ मा पढ्दै गर्दा फट्यांग्रालाई कागजको डुंगा बनाएर सानो धागोका माध्यमबाट पानीमा डुंगा चलाएको विकल्पको अनुभव छ ।

त्यसपछि उनले फट्यांग्राको विकल्पका रूपमा १.५ भोल्टको दुईवटा ब्याट्रीको सहयोगमा एउटा सानो गाडी गुडाएका थिए । सो गाडी जमिन र पानी दुवै स्थानमा गुड्न सक्दथ्यो । उनले बनाएको वैज्ञानिक प्रदर्शनीस्थलमा पहिलो आविष्कार गरेको म्यानुअल लोडिङ एन्ड लिफ्टिङ रोबोट पार्ट–१ हो ।

त्यसपछि विकल्पले हेलिकोप्टर, बम डिस्पोजल रोबर्ट, भूकम्प सूचकयन्त्र, घाँस काट्ने मेसिन, धान ठटाउने रोबोट, फुटबल खेल्ने रोबोटलगायतका वैज्ञानिक सामग्री निर्माण गरेका छन् ।

‘आफूले आफूलाई चिन्न सक्यो भने देखेको सपना साकार हुँदोरहेछ,’ उनी भन्छन् । उनी कहिलेकाहीँ साथीहरूसँग बसेर आविष्कार गर्छन् भने कहिले एक्लै सिर्जनामा लागिपर्छन् । उनी हरेक ठाउँमा नयाँ विकल्पको खोजी गर्छन् ।

उनले दृष्टिविहीनहरूका लागि लट्ठी बनाएका छन् । आफूले निर्माण गरेको सोलार स्कुटरलाई उनले नेपालका विभिन्न ठाउँमा चलाएर लगेका छन् । उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्टं) सँग मिलेर भूकम्पसम्बन्धी अलार्म सिस्टममा काम गर्न मन छ ।

नास्टकै सर्भरलाई प्रयोगमा ल्याएर देशभर भूकम्प आउने संकेत पुर्‍याउने र एसएमएसमार्फत मानिसलाई सचेत गराउने काम गर्न रहर छ । उनी अहिले मानिसहरूको एक्लोपन मेटाउने ‘स्पिकिङ रोबोट’ बनाउन लागिपरेका छन् ।

सो रोबोटले आफू कोठामा प्रवेश गर्दा स्वागत गर्ने, कुराकानी गर्नुका साथै अह्राएको काम पूरा गर्नेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।