ड्रोनबाट धरान विमानस्थलको सर्भे

धरान । धरानमा निर्माण हुन लागेको विमानस्थलको ड्रोनमार्फत सर्भे सुरु गरिएको छ । पहिले ट्विनअटरजस्ता सानो विमान मात्र उडान तथा अवतरण गर्ने विमानस्थल बनाउने भनिए पनि अहिले ४२ सिट क्षमतासम्मका विमान उडान तथा अवतरण हुने गरी विमानस्थल बनाउन लागिएको हो ।

नागरिक उड्डयन प्राधिकरणले सर्भेका लागि जिम्मा दिएको रियल पाथ इन्जिनियरिङ कन्सल्टेन्टले धरान–१७ डाँडाघोपास्थित विमानस्थल निर्माणस्थलको सर्भेको काम गरेको हो ।

धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाका अनुसार ड्रोन प्रयोग गरेर जग्गाको तस्बिर लिने तथा टोपोग्राफिक नक्सा तयार पार्ने काम हुनेछ ।

प्राधिकरणले खटाएका पाँचजना प्राविधिकको टोलीले शुक्रबार र शनिबार सर्भे गरेको उपमहानगरपालिकाका सूचना अधिकृत एवं विमानस्थल निर्माण परियोजनाका संयोजक भक्तिराज शर्माले बताए ।

प्राविधिक टोलीले सर्भेको प्रतिवेदन प्राधिकरणलाई बुझाउनेछ । ड्रोन प्रयोग गर्दा थोरै समयमा धेरै र विस्तृत तथ्यांक आउने उनको भनाइ छ । प्राविधिक टोलीका उत्सव गौतमले ७० हेक्टर जमिनको टोपोग्राफिक र थ्रिडी मोडल तयार पारेर बुझाइने बताए ।

पछिल्लो समय भने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सर्भेका लागि भनेर दुई करोड रुपैयाँ बजेट छुट्याएको छ । ड्रोनले जग्गा कति चाहिने, कस्तो बनाउनेलगायतको अध्ययन गर्नेछ ।

रन–वे कतिको हुने, कति क्षमताको जहाज उडान तथा अवतरण हुन सक्छ भन्नेबारे सर्भेबाट जानकारी पाइने प्राविधिकले बताएका छन् ।

मध्यम खालको विमान उडान तथा अवतरण गर्न सक्ने विमानस्थल बनाउन करिब ४० बिघा जमिन चाहिने बताइएको छ ।

धरान उपमहानगरपालिकाले केही दिनअघि मात्रै जग्गा उपलब्ध गराउने भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लिखित जानकारी गराएको छ । मन्त्रालयले जग्गा व्यवस्थापन भए विमानस्थल बनाउन कुनै समस्या नभएको जानकारी दिँदै आएको छ ।

१३ वर्षअघि निजी कम्पनी यति इन्कर्पोरेट प्रालिले ट्विनअटर उडान तथा अवतरण गराउने योजनाका साथ २४ जना स्थानीयबाट करिब ६ बिघा सात धुर जग्गा खरिद गरेको थियो ।

०६० सालमै जग्गा खरिद गरिए पनि विमानस्थल निर्माण भने अगाडि बढ्न सकेको छैन । विमानस्थल निर्माण नहुँदा स्थानीयले जग्गा फिर्ता गर्न मागसमेत गर्दै आएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।