ठूला परियोजना आउन नदिन चलखेल हुन्छः नेपाल

काठमाडौं । एमाले नेता माधवकुमार नेपालले ठूला परियोजा आउन नदिन चलखेल हुने गरेको दाबी गरेका छन् । ठूला परियोजना आइहाले पनि स्वीकृत हुन नदिने षड्यन्त्र हुने गरेको उनको भनाइ छ ।

एमाले वैदेशिक मामिला विभागले शनिबार आयोजना गरेको विकास र समृद्धि विषयक कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

तर, उनले चलखेल र षड्यन्त्र कहाँबाट हुन्छ भन्ने कुरा भने स्पष्ट पारेनन् । यद्यपि, नेपालको कर्मचारीतन्त्र विकासमुखी नभएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले त्यसतर्फ संकेत गरे ।

कानुनमा सुधारको आवश्यकता

नेता नेपालले मुलुकको तीव्र विकासका लागि विद्यमान कानुनमा व्यापक सुधार हुनुपर्ने धारणासमेत व्यक्त गरे । ‘विकासका लागि हाम्रा कानुनहरूमा व्यापक सुधार आवश्यक छ ।

‘कानुन सुधार गरेनौँ भने टाउको फोडे पनि विकास हुँदैन’ पूर्वप्रधानमन्त्री नेपालले भने–‘हामीकहाँ कर्मचारीतन्त्र विकासमुखी छैन, अदालतले पनि विकासका काम रोक्ने गरेको छ ।’

नेता नेपालले विकासमा हुने ढिलासुस्तीमा कर्मचारी र कानुनको अवरोधका थुप्रै उदाहरणसमेत प्रस्तुत गरे । व्यापक अवरोध रहे पनि राष्ट्रिय पुँजी, प्रविधि र जनशक्ति परिचालनमार्फत ठूलो परिवर्तन सम्भव रहेको उनको भनाइ थियो ।

अबको राजनीति समृद्धिमुखीः पाण्डे

नेपालको विकास मोडल प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री तथा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अबको राजनीति समृद्धिमुखी हुनुपर्ने बताए ।

‘हिजो हामीले भन्दै आएका कतिपय कुरा आज असान्दर्भिक भएका छन् । जमिन बाँडेर हुँदैन, यसलाई सरकारको मातहतमा राख्नुपर्छ र पकेटक्षेत्र तोकेर काम गर्न जनतालाई दिनुपर्छ’ पाण्डेले भने– ।

हिजोको राजनीति अधिकारमुखी भएको, तर आज परिस्थितिमा परिवर्तन आएका कारण समृद्धिमुखी हुनुपर्ने बाध्यता आइपरेको उनले दाबी गरे । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।