चुनावी रणनीति तय गर्न आज कांग्रेस बैठक बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीमा जुटेको कांग्रेसले चुनावी रणनीति तय गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

घोषणापत्र तयारी र निर्वाचनमा पार्टी संयन्त्र परिचालनसम्बन्धी ‘मेकानिजम’ बनाउनेबारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए ।

‘स्थानीय तह निर्वाचनमा पार्टीको घोषणापत्र निर्माण र पार्टी संयन्त्र कसरी परिचालन गर्ने भन्ने ‘मेकानिजम’ बनाउनेबारे बैठकमा छलफल हुन्छ’ केन्द्रीय सदस्य साउदले भने– ।

बैठकमा पार्टी संरचनालाई स्थानीय तहको पछिल्लो परिवर्तित संरचनाअनुसार कसरी समायोजन गर्नेभन्नेबारे पनि छलफल हुने उनले बताए । स्थानीय निकाय परिवर्तन भएर नयाँ संरचना बनेको भए पनि कांग्रेसले पार्टी संरचनालाई त्यसअनुरूप ढालिसकेको छैन ।

‘स्थानीय निकायबाट तह बन्दा पार्टीको संरचनामा पर्न गएको असरलाई ध्यानमा राखी कसरी समायोजन गर्ने भन्ने विषयमा बैठकले मापदण्ड निर्माण गर्नेछ’साउदले भने– ।

कांग्रेसले यसअघि ७५ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर स्थानीय तहमा पार्टीको अवस्थाबारे बुझेको थियो । सबै केन्द्रीय प्रतिनिधिले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाइसकेका छन् ।

ती प्रतिवेदनको सार बैठकमा पेस गर्ने र त्यसअनुसार चुनावी रणनीति तय गर्ने तयारीमा कांग्रेस छ ।

केन्द्रीय प्रतिनिधिहरूले पार्टीको गुट–उपगुट मिलाएर एकीकृत रूपमा स्थानीय निर्वाचनमा होमिए मुलुकभर नै कांग्रेसको अवस्था सुदृढ रहेको प्रतिवेदन केन्द्रलाई बुझाएका छन् ।

‘ग्राउन्ड रियालिटी’ बुझेर निर्वाचन जित्ने सम्भावना भएका नेतालाई टिकट दिए अधिकांश स्थानमा कांग्रेस बलियो रहेको प्रतिवेदनमा उल्लेख रहेको केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो ।

‘निर्वाचनमा ‘ग्राउन्ड रियालिटी’ बुझेर बलियो नेतालाई टिकट दिन पार्टी नेतृत्वले तयारी गरिरहेको छ’ सदस्य साउदले भने– ‘बैठकमा त्यसैअनुरूप छलफल हुन्छ ।’

प्रदेश समिति निर्माणको मापदण्ड निर्माण

त्यस्तै, पार्टीका संरचना संघीय ढाँचामा निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन् ।

पार्टीको प्रदेश समिति कसरी निर्माण गर्ने भन्ने मापदण्ड बनाउने प्रस्ताव बैठकमा पेस गर्ने तयारी देउवाले गरिरहेको उनीनिकट स्रोतले बतायो ।

संघीयतासहितको संविधान जारी भइसकेपछि अघिल्लो फागुनमा १३औ महाधिवेशन सम्पन्न गरेको कांग्रेसले प्रत्येक प्रदेशबाट दुई–दुईजना केन्द्रीय सदस्य निर्वाचित गर्नुबाहेक अन्य संघीय कमिटी बनाएको छैन ।

संघीय संरचनामा पार्टीको संरचना निर्माणबारे कुनै मापदण्ड नै बनेको छैन । प्रदेशस्तरका पार्टी नेता–कार्यकर्ताको चर्को दबावपछि सभापति देउवाले प्रदेश समिति निर्माणबारे मापदण्डमाथि छलफल गर्न लागेका हुन् ।

कार्यसम्पादन समिति र विभाग निर्माण पनि एजेन्डा

बैठकमा पार्टीको महत्वपूर्ण निकायका रूपमा रहेको कार्यसम्पादन समिति र विभाग निर्माण गर्ने पनि एजेन्डा रहेको छ । कार्यसम्पादन समितिमा रहने पदेन सदस्यबाहेक केन्द्रीय समितिले मनोनयन गर्न पाउने २२ सदस्य मनोनयनमा सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति बनिसकेको छ ।

वरिष्ठताका आधारमा २२ जनालाई समिति सदस्य बनाउन दुई नेताबीच सहमति भएको जानकारी आफूले पाएको पौडेलपक्षीय केन्द्रीय सदस्य बलबहादुर केसीले बताए ।