मुलुकमा भ्रष्टाचार र बेथिति बढेकोले विकल्प खोज्नुपर्छः उपेन्द्र यादव

काठमाडौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नु पर्ने आवश्यकता औल्याउँदै प्रचण्ड नेतृत्वको सरकारको विकल्पको संकेत गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने– मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको छ ।

एमालेसँगको नजिकिदो सम्बन्ध र सरकार परिवर्तनको संम्भावनाको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा यादवले त्यस्तो बताएका हुन । उनले एमाले आफूहरुको स्थायी सत्रु नभएको र राजनीतिमा स्थायी सत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए ।

एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने उल्लेख गर्दै यादवले भने–‘यो ठूलो भ्रष्टाचार हो, अहिले अख्तियारलाई थन्क्याईहाले, अब कसले छानविन गर्छ मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ ।’

यादवले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भने–‘कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै भएको छ, स्थानीय निर्वाचनको नाममा अहिलेको सरकारले उल्टो बाटो पछ्याईरहेको छ, सुल्टो बाटो भनेको पहिले केन्द्रीय संसदको चुनाव गर्नुपर्छ ।’

यादवले भने–‘पहिले संसदको निर्वाचन हुनुपर्छ, त्यस पछि प्रदेशको र अन्त्यमा स्थानीय तहको निर्वाचन हुनुपर्छ, अहिलेको संविधानले मधेशी, जनजाती, थारु, संघीयता पक्षधर र सिमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुर्नलेखन नगरिएसम्म मुलुकको भलो हुँदैन।’

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार टाउकोले टेकेर हिँडिरहेको आरोप लगाउँदै भने,‘ टाउकाले यात्रा कहाँसम्म गर्न सक्छ ? हामी खुट्टाले हिँड्नको लागि सुझाव दिईरहेका छौँ, हिजो राजाले पनि यस्तो निर्वाचन नगरेका होईनन्, त्यस्तै आज सरकारले सेना परिचालन गरेर निर्वाचन गर्नु भनेको मुलुकलाई झन भड्खालोमा जाक्ने काम हो।’

यद्यपी यादवले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा यस्तो समस्या नै नआउने दाबी गरे। उनले भने–‘हामीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारले गम्भिरता देखाएन् ।’

प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई कसरी लिनुभएको छ भनी पत्रकारले सोधेको एक प्रश्नमा यादवले भने–‘मुलुकको समस्या समाधान गर्नुपर्ने बेलामा उहाँ चीन जानुभयो, मुलुकको समस्या समाधान गरेर चीन मात्रै होईन, जापान, अमेरिका जहाँ गए पनि हुन्थ्यो ।’

मधेशमा मोर्चाका कार्यकर्ताहरू निर्वाचनको तयारीमा जुटेका छन् नि भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा यादवले भने–‘हाम्रा कार्यकर्ताहरुले के गरिरहेका छन् भन्ने कुरा हामीलाई पनि थाहा हुन्छ, हाम्रा कार्यकर्ता निर्वाचन होईन आन्दोलनको तयारी गर्दैछन्।’