कञ्चनजङ्घामा नाउरको सङ्ख्या उल्लेख्य वृद्धि

व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग आग्रह

काठमाडौँ । स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताएका छन् ।

संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग आग्रह गरेका हुन् । उनीहरूले त्यसबाट हुने आम्दानी संरक्षणका थप कार्यक्रम सञ्चालनका लागि दिनसमेत माग गरेका छन् ।

कञ्चनजङ्जा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले नाउरको सङ्ख्या वृद्धि भएकाले सिकार क्षेत्रको रूपमा घोषणा गर्न सरकारसँग माग गरेको बताए । यहाँ गत वर्षको गणनामा नाउरको सङ्ख्या दुई हजारभन्दा बढी रेकर्ड गरिएको छ ।

अध्यक्ष लिम्बूले भने–‘ चोरी सिकार नियन्त्रणमा आएकाले नाउरको सङ्ख्या निकै वृद्धि भइरहेको छ । सिकारका लागि विदेशीलाई खुला गर्न सके प्राप्त राजस्वबाट स्थानीय बासिन्दाको जीविकोपार्जन र संरक्षणका थप कार्यक्रम सञ्चालन गर्न सजिलो हुन्छ । ”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले स्थानीयवासीको माग स्वाभाविक देखिएको बताउँदै त्यसका लागि विभागले आवश्यक प्रक्रिया सुरु गरेको बताए।

संरक्षण प्रभावकारी भएपछि हरेक वर्ष दुईदेखि चार सयको हाराहारीमा नाउरको सङ्ख्या वृद्धि भइरहेको उनले बताए । आईयूसीएनको दिगो नाउर सिकार निर्देशिका १९९७ मा कुनै निश्चित क्षेत्रभित्र कुल सङ्ख्याको बढीमा चार प्रतिशतसम्म नाउर सिकार गर्न सकिने उल्लेख छ ।

हालै गरिएको गणनाअनुसार कञ्चनजङ्घामा बर्सेनि ८० वटासम्म नाउरको सिकार गर्न सकिन्छ । तर, परिषद्ले बर्सेनि ४० वटा नाउरको सिकारका लागि खुला गर्न माग गरेको छ ।

विभागका पूर्व महानिर्देशक श्याम बजिमय नेतृत्वको टोलीले विस्तृत अध्ययन गरी हिउँचितुवा लगायतका अन्य वन्यजन्तुको आहार, बासस्थान तथा पारिस्थितीय प्रणालीमा कुनै असर नपर्ने गरी याङ्मा र खम्बाचेन क्षेत्रमा नाउरको सिकार अनुमति दिन सुझाव दिएको छ ।

वन्यजन्तुको संरक्षणका लागि परिषद्अन्तर्गत दुईवटा हाब्रे संरक्षण समूह, चारवटा हिउँ चितुवा संरक्षण समूह, छवटा अग्नि नियन्त्रण एकाइ, आठवटा चोरी सिकार नियन्त्रण एकाइ, २६ वटा संरक्षण सामुदायिक वन उपभोक्ता समूह, ३५ वटा आमा समूह, ४६ वटा उपभोक्ता समूह गठन गरिएको छ । कञ्चनजङ्घामा नाउर मात्र नभई हिउँचितुवा, हाब्रे, कालो भालु, ब्वाँसो, कस्तुरी र मृगको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

स्थानीय समुदायलाई संरक्षण अभियानमा सक्रिय रूपमा सहभागी गराउन विश्व वन्यजन्तु कोषले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । विश्व वन्यजन्तु कोषका तर्फबाट लामो समयदेखि यो क्षेत्रको संरक्षणमा सहभागी कार्यक्रम व्यवस्थापक अनन्त भण्डारीले प्रजातिको व्यवस्थापन गर्न सिकार एउटा महत्वपूर्ण विधि भएको बताए ।

विदेशीलाई सिकार खेल्नका लागि खुला गरिएको नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षपछि नाउरका लागि सिकारको सम्भावना भएको स्थानका रूपमा यो क्षेत्र विकसित भएको भण्डारीले जानकारी दिए ।

२०६३ असोज ६ गते सरकारले यो क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण गरेको हो । समुदायलाई हस्तान्तरण गरेर फर्किने क्रममा असोज ७ गते तत्कालीन वनमन्त्री, संरक्षणविद् सहितको हेलिकोप्टर घुन्सामा दुर्घटना भएको थियो ।

२०६४ चैत २० गते सरकारले कञ्चनजङ्जा संरक्षण क्षेत्र नियमावली राजपत्रमा प्रकाशित गरी यसको संरक्षणको सम्पूर्ण जिम्मा परिषद्लाई दिएको छ ।