सुरक्षा निकाय नै खोज्दैनन् अवैँध हतियार’

परासी । जिल्लास्थित सुरक्षा निकायले अवैध हतियारबारे सोधखोज नगर्दा दुरुपयोगको आशंका बढेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्न इजाजत लिएका व्यक्तिसँग सुरक्षा निकायले सोधखोज नगर्दा दुरुपयोगको आशंका बढेको हो । इजाजत लिएकामध्ये दुई सय २९ हतियार कहाँ र कुन अवस्थामा छन् भन्नेबारे प्रशासनलाई जानकारी छैन् ।

हालसम्म तीन सय ३५ जनालाई हतियार राख्न इजाजत दिइएको प्रशासन कार्यालयको भनाइ छ । तीमध्ये २०७३ चैतसम्मका लागि एक सय ६ हतियार मात्र नवीकरण गरिएको छ ।

अन्य हतियार भने व्यक्तिले अवैध रूपमा राखेका छन् । हतियारको इजाजत लिएर जाने र नवीकरण नगराउने व्यक्तिसँग प्रशासनले सोधपुछ गरेको छैन । इजाजत लिएर जाने व्यक्ति अधिकांश सीमावर्ती क्षेत्रका छन् ।

कुस्मा, रामपुरखडौना, हकुई, गेरमी, पाल्ही, सरावल, सनई, सुक्रौली, प्रतापपुर, जमुनियालगायतका व्यक्तिले हतियारका लागि इजाजत लिएका हुन्, जसमा सबैभन्दा बढी १२ बोरका छन् ।

त्यसैगरी २२ बोर, हवाई बन्दुक, भरुवा, पेस्तोल, ब्रिजलोड, कटुवालगायतका हतियार लिनेको संख्या बढी छ । इजाजतसहितका हतियारबारे सम्बन्धित व्यक्तिसँग सोधपुछ नगरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

यसैबीच इजाजत लिएर राखेका हतियार बुझाउन जिल्ला सुरक्षा समितिले चैत १८ भित्रको समय तोकेको छ । निर्वाचनको समयमा शान्तिसुरक्षाको कारण देखाउँदै सर्वसाधारणले इजाजत लिएर राखेका हतियार बुझाउन समय तोकिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।