नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री भेटघाटमा व्यस्त

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिसँग शीतलनिवास, गृहमन्त्रीसँग मन्त्रालयमा र प्रधानसेनापति क्षत्रीसँग सैनिक मुख्यालयमा उनले शिष्टाचार भेट गरेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिसँगको भेटमा सशस्त्र र नेपाल प्रहरीको सञ्चार प्रणाली आधुनिकीकरणमा छलफल भएको थियो भने प्रधानसेनापतिसँगको भेटमा सेनालाई दिने सहयोगबारे कुराकानी भएको थियो ।

‘उपप्रधानमन्त्रीसँगको भेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सञ्चार प्रणाली आधुनिकीकरण गर्ने, गृह मन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिम उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ’ गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले भने– ।

गृहमन्त्री निधिले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाए ।

उनले नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगका लागि आभार व्यक्त गरेका थिए ।

उपप्रधानमन्त्री निधिले गत वर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न रक्षामन्त्री चाङको ध्यानाकर्षण गराए ।

जवाफमा चाङले अरनिको राजमार्ग पुनर्निर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने बताए । उनले आफू स्वदेश फर्किएपछि यस विषयमा थप कुराकानी गर्ने पनि आश्वासन दिएका छन् ।

प्रधानसेनापतिसँग उनले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार त्यसक्रममा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको छ ।

बिहीबारै रक्षामन्त्री चाङले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्र्यापण गरे । उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

रक्षामन्त्री बालकृष्ण खाणको निमन्त्रणामा बिहीबार काठमाडांै आएका उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।