धरहरा निर्माणको नक्सा बन्यो, ५९ लाख ९० हजारमा नक्सा तयार

काठमाडौं । निर्माण अभियान थालिएको एक वर्षपछि धरहराको नक्सा तयार भएको छ । ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ बने पनि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न बाँकी छ ।

कन्सल्टेन्ट कम्पनी एमआरबी एसोसिएट जेबीले करिब सात महिना लगाएर धरहराको ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ तयार गरेको हो । जेबीले पुरातत्व विभागलाई नक्सा बुझाइसकेको छ । कम्पनीले ५९ लाख ९० हजार रुपैयाँमा नक्सा तयार पारेको हो ।

विभागका महानिर्देशक भेषनारायण दाहालले नक्सा अध्ययन भइरहेको बताए । ‘केही दिनअघि कन्सल्टेन्टले नक्सा पेस गरेका छन् ।

हामीले अध्ययन गरेर केही सुझाब दिएका छौँ, दाहालले भने–‘अबको केही दिनमै नक्सा फाइनल हुनेछ ।’ कन्सल्टेन्ट कम्पनीले धरहरा निर्माण गर्न तीन अर्ब रुपैयाँ खर्च हुने प्रतिवेदन पेस गरेको विभागले जनाएको छ । विभागका अनुसार दु्र्त गतिमा काम भए तीनदेखि चार वर्षभित्र निर्माण हुन सक्नेछ ।

विभागका अनुसार नेपाल टेलिकमले धरहरा निर्माण गर्नेछ । तयार भएको नक्सा पनि टेलिकमलाई हस्तान्तरणको तयारी छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गत वर्ष ५ फागुनबाट ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो ।

धरहराको उचाइ २ सय ४५ फिट अग्लो तथा ११ तलाको बन्नेछ । नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट हुनेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ ।

त्यस क्षेत्रमा २ हजार ७० वटा गाडी पार्किङ गर्न सकिने अत्याधुनिक पार्किङ बनाइने भएको छ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालयसमेत बनाउने योजना छ ।

धरहरा ४२ रोपनी क्षेत्रफलमा बन्नेछ । नवनिर्मित धरहराले गोश्वारा हुलाक कार्यालय र टक्सार कार्यालय रहेको क्षेत्रलाई समेत समेट्नेछ । ‘धरहरा अत्याधुनिक र भव्य बन्नेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।