प्रधानमन्त्री प्रचण्ड–चिनियाँ उपप्रधानमन्त्री भेटवार्ता

आन्तरिक समस्या समाधान गर्न नेपाल सक्षम चीनको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँग हाइनान प्रान्तको बोआओमा भेटवार्ता गरेका छन् । प्रचण्डसँग झाङले नेपालका राजनीतिक दलहरू एकताबद्ध भएर आन्तरिक समस्या समाधान गर्न सक्षम रहेको बताएका छन् ।

‘नेपाल संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा खुसी व्यक्त गर्दै चीनका उपप्रधानमन्त्रीले नेपालका राजनीतिक दलहरू एकताबद्ध भएर जुनसुकै आन्तरिक समस्या समाधान गर्न सक्छन् भन्ने विश्वास व्यक्त गरे भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भेटवार्ताको सुरुमा प्रधानमन्त्री प्रचण्डले संविधान निर्माणमार्फत नेपालको पछिल्लो राजनीतिक परिवर्तन संस्थागत गरिएको जानकारी दिएका थिए । उनले अब स्थानीय तहको निर्वाचन हुँदै संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायित्व हासिल गर्ने बाटोमा नेपाल अघि बढेकोसमेत उल्लेख गरेका थिए ।

जवाफमा चीनका उपप्रधानमन्त्री झाङले निर्वाचनमा गएकोमा सफलताका लागि शुभकामना दिएका थिए । झाङले चीनले सधैँ नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्दै आएको बताए । उनले चीनले नेपाली जनताले चाहेजस्तो विकासको पक्षमा रहेकोसमेत बताएका थिए ।

सन् २००९ मा नेपाल भ्रमणमा आएका झाङले प्रधानमन्त्री प्रचण्डसँग पुरानो चिनजान रहेको स्मरण गरेका थिए भने नेपालबारे आफूलाई नजिकबाट जानकारी रहेको बताएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको सातजना स्थायी समिति सदस्यमध्येका एक उनी आर्थिक मामिला हेर्छन् ।

उपयुक्त समयमा राष्ट्रपति सीको भ्रमण

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय भ्रमणको महत्वबारे बताएपछि उपप्रधानमन्त्री झाङ गाओलीले चीनका राष्ट्रपति सि जिङ पिङले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने जानकारी दिएका छन् ।

‘नेपाल र चीनबीच लामो समयदेखि आत्मीय र समस्यारहित सम्बन्ध रहँदै आएको छ, नेपालले एक चीन नीतिप्रति सधैँ समर्थन गर्दै आएको छ र नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिनेमा दृढ छ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनामा नेपालले साझेदारी गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भूकम्पपछि चीनले गरेको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गरेका छन् । चीनको विकास र आर्थिक उन्नतिबाट नेपालले पनि फाइदा लिन सक्ने बताएका थिए ।

नेपाल र चीनबीच नजिकबाट सहकार्यः उपप्रधानमन्त्री झाङ

उपप्रधानमन्त्री झाङ गाओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६२ वर्षदेखि नेपाल र चीनबीच धेरै नजिकबाट सहकार्य हुँदै आएको बताए ।

उनले प्रधानमन्त्री प्रचण्डको यो भ्रमण सम्बन्धलाई अझै नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण हुने विश्वास गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच केही महिनाअघि भारतको गोवामा रहेको भेट महत्वपूर्ण रहेको पनि उनको भनाइ थियो ।

रेलदेखि पूर्वाधार निर्माणसम्म प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री प्रचण्डले रसुवा, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल्वे निर्माण, इनर्जी कनेक्टिभिटी, ट्रान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोल भण्डारण, टान्समिसन लाइन, इकोनोमिक जोन निर्माणमा जोड दिए ।

यी विषयमा नेपाल र चीनबीच सहमति हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले नेपाल सरकारको तर्फबाट यसअघि चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरेका थिए ।

उपप्रधानमन्त्री झाङले रेल्वे, ट्रेड, कनेक्टिभिटी, पूर्वाधार विकासलगायत सबै विषयमा चीन सकारात्मक रहेको र छिटै सहमति गरेर सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

तातोपानी नाका खोलियोस्

प्रधानमन्त्री प्रचण्डले चीनका उपप्रधानमन्त्री झाङ गाओलीसँगको भेटवार्ताको क्रममा तातोपानी नाका तत्काल खोल्न चिनियाँ सरकारलाई आग्रह गरेका छन् ।

अरनिको राजमार्ग नेपाल र चीनबीच सम्बन्धमा ऐतिहासिक भएको र त्यसको प्रतीकका रूपमा तातोपानी नाका रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

उपप्रधानमन्त्री झाङले अरनिको राजमार्ग खोल्नेबारे चीन सकारात्मक रहेको जवाफ दिएका थिए । उनले नेपाललाई विभिन्न स्तरमा सहयोग बढाउँदै लगिने पनि बताएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।