वैद्यलाई  एकतामा ल्याउने प्रचण्डको योजनाः सयौं नेता कार्यकर्ता माआवादी केन्द्रमा प्रवेश

एकताको कुरा हल्ला मात्र भएको बैद्य माओवादीको जवाफ

काठमाडौं । मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी माओवादीका सयौं नेता,कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन । बैद्य माओवादीको भेरी कर्णली राज्य समितिका इन्चार्ज धनजित शाही सहित उक्त राज्यका सयौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा समाहित भएका हुन ।

हिजो माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले क्रान्तिकारी माओवादीका भेरी कर्णाली इन्चार्ज धनजित शाही, कालिकोट सेक्रेटरी दुर्गाप्रसाद काफ्ले, मुगु सेक्रेटरी सुरबहादुर बुढासहितका नेताहरुलाई एक कार्यक्रमबीच टिका र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

बैद्य माओवादीबाट सम्बन्ध बिच्छेद गरेर आएका नेताहरुलाई स्वागत गर्दे प्रचण्डले आफ्नो पार्टीमा छिट्टै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण पनि आउने दाबी गरेका छन । उनले वैद्यलार्इ नै माओवादीमा ल्याउने आफ्नो चाहना रहेको बताउँदै एकताका क्रममा वैद्य समेत माओवादी केन्द्रमा आउने आफ्नो विश्वाश व्यक्त गरे ।

प्रचण्डले गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिता, समानुपातिकता, धर्म निरपेक्षतासहितका उपलब्धीहरुको रक्षा र विकासका लागि माओवादी एक हुनुपर्ने भन्दै बैद्य पनि राष्ट्रियता र माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीहरको रक्षाको लागि छिट्टै एकतामा आउने बताए ।

पुर्नःसंगठित भएका सबै माओवादीलाई एकता गरेर माओवादी आन्दोलनलाई सशक्त बनाउने आफ्नो योजना सुनाउदै उनले छरिएर रहेका सबै माओवादी पार्टीहरुलाई एकतामा आउन आग्रह गरे ।

माओवादी केन्द्रमा सहामहित हुन पुगेका नेताहरुले बैद्य माओवादीबाट देशमा कुनै परिवर्तनको सम्भावना नदेखेको र अब राष्ट्रिय मुद्धालाई प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टीले मात्र सम्बोधन गर्न सक्ने बताएका छन ।

पार्टी प्रवेशका क्रममा बोल्दै उनीहरुले बैद्य माओवादीभित्र संक्रिणता हाबि भएको, देश र जनताको अपेक्षा अनुसार पार्टी चल्न नसकेको कारण आफुहरुले पार्टी परित्याग गरी माओवादी केन्द्रमा आएको तर्क गरेका छन ।

एकताको कुरा हल्ला मात्र भएको बैद्य माओवादीको जवाफ

उता क्रान्तिकारी माओवादीले भने माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचनमा आफुलाई ठूलो देखाउन प्रचारमूखि व्याख्या गरेको तर्क गरेको छ । क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कंडेल प्रतिकले हरपल नेपालसँग कुरागर्दे विचारको राजनीतिबाट पलाएन भएको माओवादीमा आफ्नो पार्टी एकता हुने कुरा हल्ला मात्र भएको बताए ।

प्रवक्ता कडेलले माओवादी केन्द्रमा गएका नेताहरुमा अवसरवादले प्रभाव पारेको भन्दै भेरी कर्णलीको सिंगो राज्य समिति माओवादी केन्द्रमा गयो भन्ने कुरा सत्य नभएको बताए ।

उनले त्यो विषयमा खण्डन गर्दै भने–‘मुगु र कालीकोटका जिल्ला सेक्क्रेटरी सहित केही नेताहरु त्यता गएको भन्ने सुनिएको छ तर त्यहाँका क्रान्तिकारी पक्षधर, आम जनताहरु भने हाम्रै पार्टीमा हुनुहुन्छ । भेरी कर्णली राज्य नै खालि भयो भन्ने गलत प्रचार भएको छ । त्यो सत्य होइन ।’

उनले माओवादी केन्द्रसँग पार्टी एकताको कुनै सम्भावना नभएको भन्दै भने–‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हाम्रो पार्टी पनि एकतामा जाने भन्ने खालको अभिव्यक्ती दिनुभएको रहेछ, त्यो सरासर गलत छ । देशको प्रधानमन्त्री जस्तो मान्छेले त्यस्तो खालको झुटवाजी प्रचार नगर्नु पर्ने हो, उहाँहरु चुनावमूखी हुनुभएकाले त्यसमा आफ्नो प्रचार गर्नका लागि हाम्रो पार्टीको प्रयोग गर्न खोजेको देखियो,यो गलत छ ।’

कडेलले माओवादी केन्द्रसँग भ्रमको खेती बाहेक कुनै राजनीतिक आदर्श नभएको भन्दै सुधारवादी,अवसरवादीहरु त्यतातिर र सच्चा क्रान्तिकारीहरु आफ्नो पार्टीतिर धुब्रिकृत हुदै गएको दाबी गरे ।

उनले भने–‘हामी विचार र राजनीतिक कार्यदिशाको हिसाबले माओवादी केन्द्र भन्दा फरक ठाउँमा छौ । उहाँहरु उपभोगवादी दिशामा हुनुहुन्छ हामी परिवर्तनका लागि क्रान्तिको दिशामा छौ । तसर्थ उहाँहरुसँग हाम्रो पार्टीको एकता हुने कुनै सम्भावना नै छैन ।’