एमाले सहमति भएपनि संसोधनको पक्षमा मतदान गर्दैनः भट्टराई

काठमाडौं । नेकपा एमालेले सीमांकन वाहेक अरु विषयमा पनि समर्थन नगर्ने बताएको छ । संविधान संसोधन प्रस्तावलाई छलफल प्रक्रियामा लैजान सहयोग गर्ने तर पक्षमा मतदान नगर्ने प्रष्ट पारेको छ ।

सीमांकन वाहेकका अरु विषयमा एमाले सहमत रहेको भनाई आइरहेका बेला एमालेको यस्तो भनाई आएको हो । एमाले सचिव योगेश भट्टराइले एमाले सीमांकनका वाहेकका विषयमा सकारात्मक रहेको तर संसोधनका पक्षमा मतदान नगर्ने प्रष्ट पारे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै एमाले सचिव भट्टराईले अहिले उठाइएका सबै माग नक्कली भएकाले एमाले सहमत नभएको बताएका हुन ।

मधेसी मोर्चाको नाममा अनाबश्यक माग उठाने गरिएको पनि उनले बताए । ‘एमाले संसोधनको पक्षमा छ तर मतदान गरेर समर्थन गर्दैन’ एमाले सचिव भट्टराईले भने–‘एमालेले राष्ट्रियतालाई असर गर्नेगरि आएका कुनै प्रस्तावमा समर्थन गर्दैन त्यसकारण यो संसोधनको विपक्षमा छ । ’

भट्टराईले हिन्दी भाषा नेपालको राष्ट्रिय भाषा हुनै नसक्ने पनि बताए । भट्टराईले हिन्दी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग नेपालको हितमा नभएको बताए ।

भट्टराईले भने–‘एमाले पार्टी रहदा सम्म भोजपुरी, मैथली, अवधी, राई, थारु, लिम्बु, मगर, किरात लगाएका भाषा सरकारी कामकाजको भाषा हुनसक्छ, तर हिन्दी भाषा कुनैपनि हालतमा राष्ट्रिय भाषा हुन सक्दैन ।’

उनले अंगिकृत नागरिकलाई देशको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, लगाएतका मुख्य पदमा जान नदिने पनि बताए ।