सरकारले चार बोरा सुर्तीजन्य पदार्थ नष्ट

काठमाडौं । सरकारले मापदण्डविपरीत बजारमा बिक्री वितरण भइरहेका सुर्तीजन्य पदार्थ नष्ट गरेको छ ।

अनुगमनका क्रममा अनियमित रूपमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार चार बोरा सुर्तीजन्य पदार्थ नष्ट गरेको हो ।

काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सुर्तीजन्य पदार्थ नियन्त्रण नियमावली २०६८ र नियमन ऐन २०७१ अनुसार मापदण्डविपरीत भेटिएका सुर्तीजन्य पदार्थ नष्ट गरेको जानकारी दिए ।

‘सरकारले सुर्तीजन्य पदार्थको बिक्री वितरणसम्बन्धी मापदण्ड बनाएको छ । १ चैतबाट देशभरिका किराना पसलबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने उद्देश्यसहित स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणसम्बन्धी ऐन बनाएको छ ।

यस्तो अवस्थामा अनियमित रूपमा बिक्री वितरण गर्न पाइँदैैन,’ उनले भने । लुइँटेलले पसलमा १८ वर्षमुनिका बालबालिकाले बेचेको, छुट्टै ठाउँको व्यवस्था नगरी किराना पसलहरूमा बेचेको, इजाजत नलिएको, मापदण्डअनुसारको बोर्ड नराखी बेचेको फेला पारेपछि नियन्त्रणमा लिई नष्ट गरेको बताए ।

केही पुराना पसलले इजाजत नलिई बेचेको पाएपछि त्यस्ता पसललाई आइन्दा इजाजत लिएर मात्रै बेच्न सुसूचित गराएको उनको भनाइ छ ।

बजारमा अझै धेरै ब्रान्डका चुरोट ९० प्रतिशत चेतावनीमूलक रंगीन चित्रअंकित स्वास्थ्य सन्देश नराखी बिक्री वितरण गरेको पाइएको उनले बताए ।