सिआइबीद्धारा आठ वर्षपछि हत्यारा पक्राउ

काठमाडौं । आफ्नी श्रीमतीसँग प्रेम सम्बन्ध गाँसेको भन्दै एक युवकको हत्या गर्ने भक्तपुरका रवीन्द्र साख आठ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बुधबार मूलपानीबाट पक्राउ गरेको हो ।

साखसहित तीनजना मिलेर गत २० भदौ ०६३ मा भक्तपुरका रामसुन्दर तमर्थूको हत्या गरेका थिए । श्रीमती पूजा साख (कार्की)सँग प्रेम सम्बन्ध राखेको आरोपमा उनले तमर्थूलाई कोठामा बोलाएर साथीहरू रामगोपाल महर्जन र रामशरण मालीको सहयोगमा कुटपिट गरेर हत्या गरेका थिए ।

घटनालगत्तै पक्राउ परेका साख दुई वर्ष जेल बसेर निस्किएका थिए । उनका साथीहरू भने धरौटीमा छुटेका थिए । उनकी श्रीमती पूजाविरुद्ध समेत प्रहरीले मुद्दा चलाएको थियो । उनी पनि धरौटीमा छुटेकी थिइन् ।

जिल्ला अदालत भक्तपुरले साखलाई दुई वर्ष कैद सजाय सुनाएको थियो । तर, तत्कालीन पुनरावेदन अदालतले दश वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि साख फरार भएका थिए । उनी मूलपानीमा ए टु जेट पार्टी प्यालेस सञ्चालन गर्दै आएका थिए ।

अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिलाई कानुनी कठघरामा ल्याउने सिआइबीको अभियान अप्रेसन हन्टअन्तर्गत उनी पक्राउ परेका हुन् ।

पक्राउ परेका साखलाई अदालतमार्फत केन्द्रीय कारागारमा पठाइएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।