अस्थायी पुलमा ओहोरदोहोर गर्दा, स्थानीयवासी रकम बाध्य

भीमदत्तनगर । नदी तर्दा पुलबाट तरेबापत पैसा तिर्नुपर्छभन्दा पत्यार नलाग्न सक्ला, तर कञ्चनपुर–कैलालीको सीमा छुट्याउने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा यहाँको अमरबस्तीका स्थानीयवासीले रकम बुझाउनुपर्ने बाध्यता रहेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ अमरबस्तीका नागरिक धनगढीलगायत अन्य स्थानमा जान मोहना नदीमा बनाएको बाँसको अस्थायी पुलबाट तरेबापत वर्षौंदेखि पैसा तिर्दै आएका छन् ।

वारि कञ्चनपुरको अमरबस्ती र पारि कैलालीको बरहरा बस्तीको बीचमा पर्ने नदीमा स्थानीयवासीले समूहमार्फत अस्थायी पुल बनाएका छन् ।

पुलमा ओहोर–दोहोर गरेबापत प्रतिमोटरसाइकल रु २०, साइकल रु १० र प्रतिव्यक्ति रु पाँच रकम तिर्नुपर्ने हुन्छ । ‘नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोर–दोहारमै समस्या पर्छ’ पुलका चौकीदार सुन्दर चौधरीले भने–‘पुल नहुँदा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ ।’

अमरबस्तीका किसानले उत्पादन गरेको तरकारी बिक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको चौधरीको भनाइ छ ।

पुलबाट दैनिक रु ६ सय देखि नौसयसम्म रकम सङ्कलन हुने गरेको उनले बताए । ‘पुनर्वास घटनाका बेला एक दिनमै रु ६ हजार सङ्कलन भयो’–उनले भने झोलुङ्गे पुलका लागि स्थानीयवासीले माग गरेको भए पनि सुनुवाइ भएको छैन ।

उनले सङ्कलन भएको रकम बर्सातपछि नयाँ पुल निर्माणमा खर्च हुने गरेको बताए । ‘गाउँले समूहमा आबद्ध भएर पुल मर्मतसम्भारदेखि रकम सङ्कलनसम्म गर्छौं’–उनले भने । झोलुङ्गे पुल बने यहाँको धेरै समस्या समाधान हुने थिए । रासस