संविधान संशोधनबिना मधेसमा स्थानीय तहको निर्वाचन असम्भव: यादव

नयाँ म्यान्डेट लिएर संघर्ष अगाडि बढाउन स्थानीयको सुझाव

वीरगन्ज । पछिल्लो मधेस आन्दोलनको केन्द्र वीरगन्जमा यतिखेर मधेसकेन्द्रित दलहरू स्थानीयस्तरमा प्रभावशाली व्यक्तिलाई आफूतिर तान्न कस्सिएका छन् । संविधान संशोधनबिना मधेसमा स्थानीय तहको निर्वाचन गर्नै नदिने बताउँदै आएका उनीहरूबीच चुनाव मिति नजिकिँदै गर्दा प्रभावशाली उद्योगी, व्यापारी, गाउँका पूर्वमुखियालाई पार्टी प्रवेश गराउने ‘होडबाजी’ नै चलेको हो ।

प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको नयाँ म्यान्डेट लिएर संघर्षलाई अगाडि बढाउन स्थानीयले सुझाएका छन् । ‘आ–आफ्ना मुद्दा लिएर जनतामा जाने र आफूलाई स्थापित गर्ने विधिमै सबै दलले विश्वास गर्नुपर्छ,’ नगरदाहाका पूर्वगाविस उपाध्यक्ष सोधा यादवले भने ।

आइतबार वीरगन्जभन्दा २० किमि पश्चिममा रहेको पोखरियामा संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजय सरावगी, पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, जगदम्बा प्रालिका रमेश अग्रवाललगायत उद्योगीरव्यापारी र सयौं स्थानीयलाई अबिर–माला पहिर्‍याएर पार्टीमा भित्र्याए । कार्यक्रममा उर्लिएको भीड देखेर हौसिएका नेताहरूले आगामी निर्वाचनमा ‘फोरमकै कब्जा हुने’ दाबीसमेत गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।