लाखौँ खर्च भयो, तर स्ववियु निर्वाचन भएन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन सम्पन्न हुन नसक्दा विभिन्न ३६ क्याम्पसले लाखौँ रुपैयाँ व्यर्थमा गुमाएका छन् ।

त्रिविका ठूला आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु भए पनि सम्पन्न हुन सकेन । जसका कारण विद्यार्थीबाट उठाएको लाखौँ खर्च भए पनि उनीहरूले स्ववियु नेतृत्व पाउन सकेनन् ।

त्रिविले शंकरदेव क्याम्पसका लागि आठ लाख रुपैयाँ खर्च गर्न पाउने सिलिङ तोकेको थियो । एकपटक १८ फागुन र अर्कोपटक सर्वपक्षीय छलफलबाट २३ फागुनका लागि स्ववियु निर्वाचन गर्ने मिति तोकिएको थियो । तर, निर्वाचन हुन सकेन ।

क्याम्पस प्रमुख कृष्ण आचार्यका अनुसार यसक्रममा निर्वाचन तयारीमै करिब तीन लाख रुपैयाँ खर्च भइसकेको थियो । क्याम्पस प्रमुख आचार्यले भने–‘ स्ववियु निर्वाचन सम्पन्न भएर परिणाम आयो, न रकम नै जोगियो ।’

आरआर क्याम्पसमा पनि स्ववियु निर्वाचनका नाममा दुई लाखको हारहारीमा खर्च भएको क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवालले बताइन् ।

निर्वाचनका लागि आवश्यक सामग्री सबै जुटाइसकेकाले खर्च भइसकेको उनले जानकारी दिइन् । आवश्यक सामग्री खरिद गरे पनि आरआर क्याम्पसले भुक्तानी भने गरेको छैन ।

तर, अन्तिम समयमा स्थानीय तहको निर्वाचन आचारसंहिताको कारण देखाएर प्रशासनले निर्वाचन रोकेको थियो । सो क्याम्पसमा निर्वाचन नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिइसकेको छ । तर, अब कहिले निर्वाचन हुन्छ भन्ने तय हुन सकेको छैन ।

के–केमा भयो खर्च

त्रिविले क्याम्पसमा विद्यार्थी संख्याका आधारमा खर्चको सिलिङ तोकेको थियो । क्याम्पसहरूले विद्यार्थी कल्याणकारी कोष वा अन्य शीर्षकबाट खर्च गरेका छन् । क्याम्पसको निर्वाचन कमिटीको बैठक भत्ता, खाना, खाजा, स्टेसनरी, छपाइलगायतमा खर्च गरेका छन् ।

त्रिविका ठूला आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । तर, अधिकांशले निर्वाचन प्रक्रिया सुरु भए पनि सम्पन्न गर्न सकेका छैनन् । त्रिविका ६० वटा आंगिक क्याम्पसमध्ये २४ वटामा मात्र निर्वाचन सम्पन्न भएको छ ।

उपत्यकाका शंकरदेव, आरआरसहित विश्वविद्यालय क्याम्पस, त्रिचन्द्र, अमृत साइन्स, महेन्द्ररत्न, सरस्वती, नेपाल ल, विश्वभाषाजस्ता ठूला क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न हुन सकेको छैन ।

०६५ यता गत फागुनमा त्रिविले स्ववियु निर्वाचनको तालिकाअनुसार आधामा पनि सम्पन्न हुन सकेन । तर, स्ववियुका नाममा लाखौँ खर्च भएको छ ।

विद्यार्थीअनुसार खर्च सिलिङ

त्रिविका विद्याथी कल्याण निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले विद्यार्थीअनुसार खर्चको सिलिङ तोकेको बताए । त्रिविले दिएको सिलिङभन्दा बढी खर्च भए केन्द्रमा जानकारी आउनुपर्ने व्यवस्था गरेको उनले बताए ।

त्रिविले दुई सयसम्म विद्यार्थी हुने क्याम्पसलाई ७५ हजार, एक हजारसम्म विद्यार्थी भएका क्याम्पसलाई एक लाख ५० हजार, तीन हजारसम्म विद्यार्थी हुनेलाई तीन लाख, ५ हजारसम्म विद्यार्थी हुनेलाई ६ लाख खर्चको सिलिङ तोकेको थियो ।

५ हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा ८ लाखसम्म खर्च गर्न पाउने गरी सिलिङ तोकिएको थियो । यो समाचार आजको नया पत्रिका दैनिकमा प्रकाशित छ ।