आईजीपी बिवाद अन्त्यः प्रहरी प्रमुखमा नवराज सिलवाल (सर्वोच्चको परमादेश सहित)

सिलवाललाई प्रहरी प्रमुख बनाउन सर्वोच्चको परमादेश

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको छ ।

सर्वोच्च अदालतले बहालवाला प्रहरी नायव महानिरीक्षकहरु मध्ये योग्यता र विगत चार आर्थिक वर्षको कार्यसम्पादनको मूल्यांकन गर्दै सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको हो ।

सर्वोच्चको फैसलापछि डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक आईजीपी मा बढुवा गर्ने सरकारको निर्णय बदर भएको छ ।

सर्वोच्चको फैसलामा पछिल्लो चार आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा कुल औषत अंक हेर्दा नवराज सिलवाल पहिलो नम्बरमा रहेको उल्लेख गरिए पनि डीआईजी सिलवाललाई नै प्रहरी प्रमुख बनाउनु पर्छ भने भनिएको छैन।