प्रधानमन्त्री र यूएस प्यासिफिक कमाण्डरबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजबीच भेट गरेका छन ।

आज बिहान बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले नेपालको सुरक्षासहित अन्य क्षेत्रमा अमेरिकाले पु¥याएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । प्रधानमन्त्रीले गत भुकम्पका बेला प्राप्त अमेरिकी सेनाको सहयोग उच्च साझेदारीको नमूना भएको भन्दै त्यसक्रममा नेपालका गाउँहरुमा उद्धार कार्यमा खटिँदा आफ्नो ज्यान गुमाउने ६ जना मरिन सेनाप्रति श्रद्धान्जली प्रकट गर्दै शोकाकूल अमेरिकी सेनामा समवेदना प्रकट गरे ।

प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीच ७० बर्षदेखि नजिकको सम्बन्ध रहेको बताउँदै नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि अमेरिकासँग विगतको झैं सहकार्यको अपेक्षा गरे ।

भेटमा यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजले नेपालसँग अमेरिकाको नजिकको सम्वन्ध रहेको बताउँदै अमेरिकी सेनाको समेत आत्मीय सम्वन्ध रहेको बताए। उनले नेपाली सेनासँगको सहकार्य वारे जानकारी दिँदै नेपालको स्टाफ कलेजमा अमेरिकन सेनाले पढ्ने गरेको तथा नेपालवाट माउण्टेन वार फेर सिक्न पाएकोमा धन्यवाद दिए।