‘अस्कलको घटना अखिलभित्रको आन्तरिक विवादले भएको हो,हामीलाई किन जोड्ने ?’–अध्यक्ष न्यौपाने

‘त्यो घटना एमालेको गुटगत राजनीतिको उपज हो’

काठमाडौ । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले हिजो अस्कल क्याम्पसमा अखिल निकटका विद्यार्थी नेता कमल जोशीमाथि भएको घटनामा आफ्नो संगठनको कुनै संलग्नता नरहेको जनाएको छ । क्रान्तिकारीले अस्कल क्याम्पसमा लामो समयदेखि अखिलमा देखिएको गुटगत अन्तरविरोधका कारण पटक पटक आन्तरिक झडपहरु समेत भएको भन्दै उक्त घटनामा अखिलकै कार्यकर्ताहरुको हात रहेको तर्क गरेको छ ।

आज हरपल नेपाल डटकमसँग कुरागर्दै क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले अस्कल क्याम्पसमा हिजो भएको घटना अखिलकै आन्तरिक विवादका कारण तर्क गरेको छन । उनले क्रान्तिकारीले विचारको राजनीतिलाई केन्द्रमा राखेको भन्दै त्यस्ता घटनामा आफ्नो संगठनको अपमान हुनेगरी नजोड्न आग्रह समेत गरे ।

हरपल नेपालले उक्त घटनामा ‘क्रान्तिकारीका नेताहरु संलग्न रहेको भन्ने अखिलको आरोप र प्रहरीमा दिइएको किटानी उजुरी’ को विषयमा समाचार प्रकाशन गरेपछि क्रान्तिकारीका अध्यक्ष न्यौपानेले त्यस्तो बताएका हुन । उनले आफ्नो संगठनको प्रतिष्ठामा आँच आउनेगरी आधारविहीन तर्क गरेर अखिलले घटनामा क्रान्तिकारीका नेताहरुको नाम जोडेको भन्दै सच्याउन माग समेत गरेका छन ।

अध्यक्ष न्यौपानेले स्ववियु निर्वाचनको तयारीको क्रममा र त्यो भन्दा पहिले पनि पटक पटक एमालेभित्रको केपि ओली र माधव नेपाल गुटमा विभाजित भएका अखिलका नेता,कार्यकर्ताहरुलले अस्कल क्याम्पसको हाताभित्रै गुटगत आन्तरिक हमला समेत गरेको बताए । उनले एमाले अखिलले अस्कल क्याम्पसभित्र पहिले देखिनै आन्तरिक गुटगत राजनीति गर्दै आएको र त्यसका कारण अहिले पनि कुनै आन्तरिक विवाद भएर त्यो घटना घटेको हुन सक्ने तर्क अघि सारेका छन ।

उनले अखिलभित्रको विवादलाई क्रान्तिकारीसँग जोड्न नमिल्ने भन्दै जो उक्त घटनाप्रति आफ्नो संगठनको पनि विरोध रहेको बताए ।

तर अनेरास्ववियुले भने उक्त घटनामा अखिल क्रान्तिकारीको संलग्नता रहेको दाबी गर्दै आएको छ । आज बिहान अखिलले उक्त घटनामा संलग्न रहेको आरोप लगाउदै क्रान्तिकारी संवद्ध नेता,कार्यकर्ताहरुको नाममा किटानी उजुरी दर्ता गरेको छ ।

अखिलका महासचिव ऐन महरले हरपल नेपालसँग कुरागर्दै सोह्रखुट्टे प्रहरी वृतमा अखिल क्रान्तिकारीका रमेश खनाल,विकाश राई,निमासिंह,कवि राना लगाएतको नाममा किटानी उजुरी दर्ता गरेको बताएका छन ।