अस्कल क्याम्पसका अनेरास्ववियु संवद्ध विद्यार्थीमाथि आक्रमणः त्रिविमा उपचार हुदै

‘क्रान्तिकारीले आक्रमण गरेको अखिलको आरोप–क्रान्तिकारीद्धारा अस्विकार’

काठमाडौं । राजधानीको अस्कल क्याम्पसमा आज अनेरास्ववियुका नेता कमलराज जोशीमाथि आक्रमण भएको छ । आज बिहान ११ बजे तिर क्याम्पसको बास्केट बल ग्राउन्ड नजिकै एक्लै भएको अवस्थामा आक्रमण गरिएको अखिलले बताएको छ ।

रड आक्रमणबाट घाइते हुन पुगेका जोशी क्याम्पसका नियमित विद्यार्थी हुन । उनी हाल स्नातक छैटौं सेमेस्टरमा अध्ययन गर्दछन । उनी एमाले निकटको अखिलका क्याम्पस स्तरका नेता समेत हुन ।

आक्रमणबाट घाइते हुन पुगेका कमलराज जोशी उपचारको क्रममा

पछाडिबाट रड प्रहार भएपछि गम्भिर घाइते भएका जोशीलाई तत्काल उपचारको लागि ठमेल स्थित मनमोहन अस्पतालमा लगिएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई अहिले त्रिवि अस्पतालमा राखिएको अखिलले जनाएको छ ।

घटनापछि आज अखिलले एक विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनमा अखिलको लोकप्रियता देखेर आत्तिएकाहरुले सत्ताको आडमा आफ्ना कार्यकर्तामाथि आक्रमण गरिएको जनाएको छ ।

अखिलका महासचिव ऐन महरद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ–‘माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी समूहले गरेको उक्त हमलाको अनेरास्वियु घोर भत्सना गर्दछ । उक्त घटनामा संलग्नलाई पहिचान गरि कारवार्ही गर्न सम्बन्धित निकायसँग जोडदार माग समेत गर्दछौ । अन्यथा आक्रमणको प्रतिरोध गर्न पछि नहटेने चेतावनी दिन चाहन्छौ ।’

अखिलले उक्त आक्रमण अखिल क्रान्तिकारीले गरेको दाबी गरेतापनि अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य डिबी साउदले भने त्यसलाई अस्विकार गरेका छन ।

क्रान्तिकारीका नेता साउदले हरपल नेपालले तपाईहरुको संगठनले आक्रमण गरेको हो भनि सोधेको प्रश्नमा जवाफदिदै त्यस्तो बताएका हुन । उनले पहिलेदेखिनै उक्त क्याम्पसमा बेला बेला विद्यार्थीहरुबीच विभिन्न बाहनामा बिवादहरु हुदै आएको बताउदै त्यो घटना अखिल क्रान्तिकारीको कुनै योजनामा नभएको बताए ।

दुईपक्षका विद्यार्थीहरुबीचको विबादले चर्किो रुप लिएपछि त्यस्तो भएको हुन सक्ने आशंका गर्दै उनले भने–‘हाम्रो संगठनका नेताहरुलाई पनि चोट लागेको छ । तर यो के विषयमा कसरी भएको हो भन्ने सबै खुल्न सकेको छैन । हामी यो विषयमा बुझ्दै छौ ।’

उनले घटना भैसकेपछि त्यसको निकास खोज्नुपर्ने भन्दै दुई संगठनबीचको विवाद अब फेरी नदोहोरीने गरी मिल्नु पर्ने बताए ।

उनले भने–‘कुनैपनि संगठनका विद्यार्थी नेताहरुले झगडाको राजनीति गर्नु हुदैन, यो विषयमा अब समाधान कसरी गर्न सकीन्छ हामी छलफल गर्न तयार छौ ।’

विद्यार्थीहरुका अनुसार हिजो मात्र अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थीबीच विवाद भएको थियो ।

दुई संगठनबीच अमृत साइन्स क्याम्पसमा स्ववियु चुनाव र विभिन्न विषयमा कुरा नमिलेपछि पटक पटक विवाद हुदै आएको थियो । विभिन्न संगठनहरुको विवादको कारण उक्त क्याम्पसमा स्ववियु निर्वाचन समेत हुन सकेको छैन ।