सरकारद्धारा निजामाती कर्मचारीलाई स्थानीय तहको शासन संञ्चालन सम्बन्धमा कडा निर्देशन जारी

कर्मचारी र कार्यक्षेत्रको विषयमा महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई स्थानीय तहको शासन संञ्चालनको सम्बन्धमा फागुन ६ गते गरिएको आदेश अनुसार कर्मचारी खटाउन निर्देशन दिएको छ ।

नेपाल सरकारबाट निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वयन गर्न गठित केन्द्रीय व्यवस्थापन समन्वयन समितिको हालै सम्पन्न बैठकले त्यस्तो निर्देशन गरेको हो ।

उक्त समन्वयन समितिका अध्यक्ष तथा नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहमा सरकारबाट खटाउने निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा विविध छलफल गर्दै महत्वपूर्ण निर्णयहरु गरेको छ ।

उक्त बैठकले स्थानीय तहको व्यवस्था र सेवा प्रवाह कार्यरम्भ भै सकेको भन्दै नेपाल सरकारबाट स्वीकृत कार्यविस्तृतीकरण बमोजिम शिक्षा क्षेत्रको काम स्थानीय तहबाट गराउन नगरपालिका र गाउँपालिका गरी ७४४ वटै निकायमा शिक्षा मन्त्रालयले व्यवस्थापन गराउने निर्णय गरेको छ ।

त्यसैगरी उक्त बैठकले संविधान तथा स्वीकृत कार्यविस्तृतीकरण बमोजिम स्वास्थ्य सेवा व्यवस्थापन गर्नका लागि कम्तीमा १५ शैयाको अस्पतालको व्यवस्थापन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयलाई जिम्मादिने निर्णय पनि गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्धारा एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्देशनबारे जानकारी गराइएको छ ।