भिरबाट खसेर घाइते भएकी गुल्मीकी शिला भण्डारीको उपचारमा आर्थिक समस्या

परिवारद्धारा सहयोगको लागि अपिल

 गुल्मी। घाँस काट्न गएको बेला भिरबाट खसेर सक्त घाइते भएकी गुल्मी आग्लुङ २ बस्ने ४१ बर्षिया शिला भण्डारीको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको छ ।

तीन छोरी, दुई छोरा, बुहारी, बृद्ध सासु र बिरामी अवस्थामा रहेका श्रीमान लगाएत सम्पूर्ण परिवारको जिम्मेवारी पुरा गरिरहेकी भण्डारीको पारिवारीक आर्थिक अवस्था अत्यन्त नाजुक रहेको स्थानीयहरु बताउँछन ।

हरपल नेपाल डटकमसँग कुरा गर्दै पुजा ८ प्युठानका स्थानीय बाल बहादुर घर्तिले घाइते भण्डारीको कमजोर आर्थिक अवस्थाको कारण उपचारमा समस्या भएको बताए ।

घाइते भण्डारीको उपचार हुदै

घाइते भण्डारीको उपचारका लागि प्युठानको जनशक्ति युवा कलव र विभिन्न व्यक्तिहरुको सहयोगबाट सङकलन भएको रकम समेत सकिएको र उनको थप उपचारका लागि समस्या भएको घर्तिले बताए ।

गरिब परिवारकी भण्डारी घाइते भएपछि परिवारका अन्य सदस्यहरु पिडामा रहेका छन । घरको सम्पूर्ण जिम्मेवारी आफैले निर्वाह गर्दै आएकी भण्डारी घाइते भएपछि थप समस्या सिर्जना भएको स्थानीयहरु बताउँछन । घाइते भण्डारीका परिवारमा कमाउने मानिस कोहि छैन, अन्य कुनै आर्थिक आय आर्जनको बाटो पनि नभएकोले उनको उपचारमा समस्या देखिएको हो ।

बेला बेलामा विभिन्न समस्यासँग जुझ्दै आएकी भण्डारीकी छोरीको पनि गत बर्ष भिरबाट लडेपछि उपचारको क्रममा ज्यान गएको थियो । त्यसको पाँच महिना नपुग्दै अहिले उनको आई सी यु कक्षमा उपचार भइरहेको छ, घाइते भण्डारीका श्रीमान जित बहादुर भण्डारीले दुख पोखे ।

घाइते भण्डारीका श्रीमान पनि केहि काम गर्न नसक्ने अवस्थामा छन, उनको पेटको आन्द्राको अप्रेसन पहिलो पटक असफल भएपछि गत माघ महिनामा पुन पेटको अप्रेसन गरिएको थियो । अहिले पनि उनी बिरामी नै छन ।

पटक पटक भएका दुर्घटनाले परिवारको आर्थिक अवस्था निकै कमजोर र नाजुक भएको भन्दै उनका श्रीमानले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेका छन ।

xहाल बुटवल स्थित चौराह अस्पतालमा उपचारार्थ भण्डारी गत फागुन २ गते भिरबाट खसेकी थिइन । अस्पतालले पूर्णरुपले सन्चो हुन अझैँ समय लाग्ने बताएको छ ।