प्रधानमन्त्रीको चीन भ्रमणबारे विज्ञहरूको मिश्रित प्रतिक्रिया

रेल र तेलसम्बन्धी सम्झौता गर्न सुझाव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणलाई लिएर परराष्ट्र विज्ञहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।

आइतबार एक कार्यक्रमबीच तीनजना परराष्ट्रविद्ले प्रधानमन्त्रीको चीन भ्रमणबारे सरकारलाई सुझाव दिएका हुन् ।

भ्रमणका खास एजेन्डा तय नहुनु दुःखदः आचार्य

चीनका लागि पूर्वनेपाली राजदूत राजेश्वर आचार्यले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणको तयारी फितलो भएको बताए ।

‘भ्रमण खाली भ्रमणका लागि मात्रै नभएर नतिजा दिने खालको हुनुपर्छ, विशेष उद्देश्य हुनुपर्छ’ आचार्यले भने– ‘नेपालका तर्फबाट द्विपक्षीय सम्बन्धमा जिम्मेवारीबोधको अभाव देखिएको छ ।’

उनले प्रधानमन्त्रीको चीन भ्रमण आउन मात्रै अब तीन दिन बाँकी रहेकाले अहिलेसम्म भ्रमणका खास एजेन्डा तय नहुनु दुःखद भएको बताए । उनले अहिलेसम्म भ्रमणका खास एजेन्डाहरू नै तय नहुनु दुःखद भएको बताए ।

नेपालमा चीनको राष्ट्रपतिले भ्रमण नगरेको २१ वर्ष पुगिसकेको बताउँदै उनले भने–‘तर यसबीचमा झलनाथ खनालबाहेक नेपालका सबै प्रधानमन्त्रीले चीनको भ्रमण गरेका छन ।’

चीन आर्थिक, सामरिक तथा विज्ञान तथा प्रविधिको हिसाबले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा सशक्त र प्रमुख शक्ति भएकाले उसले विश्वमञ्चमा खोजेको भूमिकालाई कसैले नजरअन्दाज गर्न नहुने बताए ।

प्रचण्डको चीन भ्रमण अपरिपक्वः भट्टराई

एमालेका सांसद तथा परराष्ट्रविद् डा. राजन भट्टराईले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणलाई अपरिपक्वताको संज्ञा दिएका छन् ।

‘हामी प्रतिपक्षमा भएर पनि होला प्रधानमन्त्रीको चीन भ्रमणबारे कुनै जानकारी छैन, पत्रपत्रिकामा समाचार देख्दा थाहा पाएका हौँ ।’

उनले भने–‘बोवाओ फोरममा भाग लिनु नियमित भम्रण हो, तर चीनको राष्ट्रपतिसँगको भेट र नेपालको बारेमा केही ठोस एजेन्डामा हस्ताक्षर हुने या नहुने को–कोसँग भेट हुने, कस्ता प्रस्ताव लैजाने भन्नेबारेमा कुनै पनि गृहकार्य भएको छैन, यसले राम्रो सन्देश दिँदैन ।’

ओबिआरमा सम्झौता गर्नुपर्छः श्रेष्ठ

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चीन भ्रमणको वेला प्रधानमन्त्रीले रेल र तेलको सम्झौता गर्नुपर्ने बताए ।

विगतमा ऊन, नुन र सुनसँग सम्झौता गरेकोे स्मरण गर्दै अब रेल र तेलसम्बन्धी सम्झौता गर्नुपर्ने उनको भनाइ छ ।

श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमणमा ओबिआरमा हस्ताक्षर हुन आवश्यक रहेको बताए । ‘पूर्ववर्ती एमाले सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्छ, त्यो कार्यान्वयन नगरीकन अरू कुनै कुराका बारेमा प्रस्ताव गर्दा विश्वासमाथि प्रश्न खडा हुन्छ, अब हामीले भुटानजस्तो मूकदर्शक भएर बस्नुहुँदैन ।’

उनले भने–‘चीनसँगको सम्बन्ध सुमधुर बनाउँदै आर्थिक विकासको दिशातर्फ मुलुकलाई हिँडाउनुपर्छ, भारत र चीनको प्रगति हेरेर रमाउनुभन्दा पनि हामी आफैँले विकासका कार्य अघि बढाउनुपर्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।