वरीयतामा थापा अघि भएपछि निधिको आपत्ति

काठमाडौँ । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगत्तै नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका छन् ।

थापाभन्दा पछि राखिए मान्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले गत २६ फागुनमा थापालाई उपप्रधानमन्त्रीसहित स्थानीय विकासमन्त्री नियुक्त गरेका थिए ।

थापाले दोस्रो वरीयताको दाबी गरे पनि स्पष्ट थिएन । बिहीबार (३ चैत) बसेको मन्त्रिपरिषद् बैठकबाट प्रचण्डले आफूपछिको वरीयतामा थापालाई राखे । त्यतिवेला निधि नयाँदिल्लीमा थिए ।

त्यसअघिसम्म निधि प्रधानमन्त्री प्रचण्डपछि दोस्रो वरीयतामा थिए । उनलाई प्रचण्डले आफ्नो अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिँदै आएका थिए । शनिबार स्वदेश फर्केपछि कांग्रेस मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकबारे ब्रिफिङ गरेपछि निधि आक्रोशित बनेका हुन् ।

उनले आइतबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आपत्ति मात्रै जनाएका छैनन्, उक्त निर्णय आफूलाई स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् । आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसबारे कांग्रेसका प्रभावशाली नेताहरूको बैठक बोलाएर छलफल गरेका छन् ।

उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार निधिले आइतबार बिहान प्रधानन्त्रीलाई भेटेर आफू वरीयतामा माथि रहेको स्पष्ट पार्दै अन्यथा भए मान्य नहुने स्पष्ट पारेका छन् ।

‘कांग्रेस र माओवादी केन्द्रको पूर्ववत् सहमतिभन्दा दायाँ–बायाँ गरेर वरिष्ठताबारे गरिने निर्णय मान्य हुँदैन भनेर उपप्रधानमन्त्री निधिले प्रधानमन्त्रीलाई स्पष्ट पार्नुभएको छ,’ दाहालले भने– ।

कांग्रेस सभापति देउवा, महामन्त्री डा. शशांक कोइराला, नेताहरू बालकृष्ण खाण, डा. रामशरण महतलगायतको आइतबार साँझको बैठकमा पनि यसबारे छलफल भएको थियो ।

बैठकमा निधिले असन्तुष्टि जनाएका थिए । ‘सभापतिले यसबारे प्रधानमन्त्रीसँग गम्भीर रूपमा कुरा राख्छु भन्नुभएको छ, सबैभन्दा ठूलो दलको अपमान सहनेवाला छैनौँ,’ बैठकमा सहभागी कांग्रेसका एक नेताले भने–।

निधिको तर्क, यसकारण म वरिष्ठ उपप्रधानमन्त्री

आफू वरिष्ठतम उपप्रधानमन्त्री भएको विषयमा उपप्रधानमन्त्री निधिले दुईवटा तर्क दिने गरेका छन् । पहिलो, उनी सबैभन्दा ठूलो दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूका अगुवा हुन् ।

सत्तासाझेदारीमा ठूलो हिस्सा ओगटेका नेताका हैसियतमा आफू वरीयतामा अघि रहेको निधिको दाबी छ । त्यस्तै राप्रपा अध्यक्ष थापा अहिलेसम्म कार्यबाहक प्रधानमन्त्री नभएको बरु आफू यसबीचमा पटक–पटक भएको उनको तर्क छ ।

मन्त्रिपरिषद्को वेबसाइटमा भने निधि नै वरिष्ठ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट ओपिएमसिएम डट जिओभी डट एनपीमा भने उपप्रधानमन्त्री थापा कनिष्ट उपप्रधानमन्त्री भएको उल्लेख छ । वेबसाइटमा निधि वरिष्ठतम स्थानमा छन् भने उनीपछि कृष्णबहादुर महरालाई राखिएको छ । थापालाई चौथो वरीयतामा राखिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।