उपचारको क्रममा मृत्यु भएका मोर्चा कार्यकर्तालाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने माग

प्रहरीद्धारा गम्भिर यातना दिएको आरोप

नेपालगंज । नेकपा एमालेले संचालन गरेको मेची महाकाली अभियनको क्रममा चैत्र १ गते नेपालगंजमा आयोजित आमसभालाई लक्षित गरी मधेशी मोर्चाका कार्यकर्ताहरुद्धारा गरीएको विरोध कार्यक्रममा प्रहरीसँगको झडपबाट घाइते भई उपचारार्थ रहेका कार्यकर्ताको मृत्यु भएपछि उनलाई सहिद घोषणा गरिनुपर्ने माग गरिएको छ ।

मोर्चाले गरेको कालो झण्डा प्रर्दशन गर्ने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गरी दर्ननौ आन्दोलनकारीहरुलाई घाइते बनाएको र उपचारमा रहेको एक कार्यकर्ताको हीजो मृत्यु भएको भन्दै मधेशी मोर्चा संम्बद्ध दलह र संघ संस्थाहरुले सरकारसँग त्यस्तो माग गरेका हुन ।

आफ्ना कार्यकर्ताको मृत्यु भएपछि हिजो एक विज्ञप्ति सार्वजनिक गर्दै सद्भावना पार्टीले मृतकलाई सहिद घोषणा गरी परिवारलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘मधेशी मोर्चाले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग री दर्जनौ आन्दोलनकारीलाई घाइतो बनाएका थिए । मोहम्मद जमिल भाँटलाई प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको थियो । मृतकलाई सहिद घोषण गरी पिडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग हामी जोडदार माग गर्दछौ ।’

त्यसैगरी मधेशी नागरिक समाज बाँकेले पनि हिजो विज्ञप्ति मार्फत पिडित परिवारलाई राज्यले सहयोग गर्नपर्ने भन्दै चेतावनीपूर्ण माग अगाडि सारेको छ । समाजका संयोजक आशिष गुप्ताले जारी गरेको विज्ञप्तिमा प्रहरीले आन्दोलनकारीमाथि अनावश्यक बल प्रयोग गरेको भनिएको छ ।

प्रहरीसँगको उक्त झडपबाट गम्भिर घाइते भएका बाँकेको सोनपुर गाविस ८ बस्ने  ७० बर्षिय मोहम्मद जमिलको हिजो उपचारको क्रममा मृत्यु भएको हो । उननको नेपालगंज स्थित मेडिकल कलेजमा उपचार भैरहेको थियो ।

चैत्र १ गते भएको एमाले आमसभालाई विरोध गर्ने क्रममा गुलरिया सडक खण्डमा भएको प्रहरीसँगको झडपबाट दर्जन बढी आन्दोलनकारीहरु घाइते भएका थिए ।