छ हजार भूकम्पपीडितले पहिलो किस्ता पाएनन्

दोलखा । दोलखाका छ हजार भूकम्प पीडितले आवास निर्माणको पहिलो किस्ताबापतको ५० हजार रुपियाँ अझैसम्म पाउनसकेका छैनन् ।

सरकारी निकायबीच आपसी समन्वयको अभावका र कर्मचारीले गरेका सामान्य गल्तीका कारण कतिपय भूकम्पपीडितले पहिलो किस्ताको रकम पाउन नसकेका हुन् ।

लामीडाँडा–६ का मानबहादुर बस्नेतले अझै पहिलो किस्ता नै पाउन सकेका छैनन् । सदरमुकाम चरिकोटमा भेटिएका उनी भन्छन–‘कर्मचारीले गरेको त्रुटिका कारण मैले अझै पहिलो किस्ता पाउन सकिँन । नागरिकताको प्रतिलिपिसमेत बुझाएर विवरण भरिए पनि लाभग्राहीको सूचीमा नाम आउँदा थर ‘बस्नेत’ हुनुपर्नेमा ‘श्रेष्ठ’ भएर आएछ । त्यो सच्याउन दसौँ पटक चरिकोट धाउँदा थकित भइसके, अझै हप्ता दिनको समय दिएका छन्, हुन्छ कि हुँदैन अन्योलमा छु ।’

छरछिमेकीले घर बनाउन थालेर दोस्रो किस्ता लिन तयार भइसक्दा पनि उनी भने विभिन्न कार्यालयमा रुमल्लिइरहनु भएको छ । खातामा रकम आउला र घर बनाउँला भन्दा भन्दै टहरोमै हुरी–बतास, वर्षा खेपेर बस्न बाध्य भएको उहाँले बताउनुभयो ।

त्यसै ठाउँका बालकुमारी अधिकारीले धेरै पटक चरिकोट धाएपछि बल्ल पहिलो किस्ताको ५० हजार रुपियाँ पाएकी छन। सरकारी कर्मचारीले सही सूचना नदिएका कारण धेरै पटक धाएपछिमात्र रकम पाएको उनले बताइन । उनले भनिन–‘कर्मचारीपिच्छे छुट्टाछुट्टै नियम बनाएकाले हामी जस्ता एकल महिलाले बढी दुःख पायौँ ।’

लामिडाँडा–९ का भवानी पाठकको घर निर्माणको काम सकिएको चार महिना भइसक्यो । कहिले गाविस सचिव नहुने, कहिले प्राविधिक नहुने गर्दा उनले दोस्रो किस्ता पाउन सकेका छैनन ।

उन भने–‘प्राविधिकले दुई÷तीन पटक फोटो लिनुभएको छ । अझै अर्को फोटो लिएर सिफारिस गर्नु पर्छ रे (भ्यागुताको धार्नी पुग्नै गाह्रो) भने झैँ अब कहिले दुवै कर्मचारी जम्मा हुने र हामीले रकम पाउने होला सरकारी काम सारै जटिल र झञ्झटिलो हुनेरहेछ ।’

लोकराज पाठकले पनि यस्तै झञ्झटले दोस्रो किस्ता पाएका छैनन । उन भनेÞ–‘ सबै काम गाविसले नै गरेको छ, प्राधिकरण थप झञ्झटिलो निकाय जस्तो भएको छ ।’

केन्द्रबाट आवश्यक निर्देशनका साथै कागजात समयमै प्राप्त हुन नसक्दा काम कारबाहीमा ढिला भएको त्यस भेगमा खटिनुभएका इन्जिनियर उपेन्द्र यादवको भनाइ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यका अनुसार, लाभग्राही सूचीमा परेका यहाँका ५१ हजार ९४० मध्ये ४६ हजार ६९३ ले पहिलो किस्ता पाएका छन् ।

दोस्रो किस्ता ३२८ र तेस्रो किस्ता ६७ जनाले पाएका छन् । गुनासो सुनुवाइबाट आठ हजार २२२ जना थपिका छन् । आठ हजार ६२२ जनाको पुनः सर्वेक्षण गर्नुपर्ने देखिएको छ । गोरखापत्र