सुर्खेतबाट ओलीको व्यंग्य, कांग्रेसको कन्तबिजोग भयो

सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अहिले जनता देख्नै छाडेको बताएका छन् । मेची–महाकाली अभियानबारे सन्देश दिन शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसको कन्तबिजोग भएको बताए ।

ओलीले तराई–मधेसमा मधेसी मोर्चा भन्दै दुई–चारजना उफ्रिने गरेको र कांग्रेसले तिनैलाई मात्रै देख्ने गरेको बताए । उनले मधेसी मोर्चाका नेतालाई घुमाउरो ढंगले भारतीयको संज्ञा दिए । ‘मधेसी मोर्चा भन्दै चारजना उफ्रिन्छन्,’उनले भने–‘कांग्रेसले तिनै चारजना भारतीयलाई देख्छ, करोड नेपाली देख्दैन ।’

माओवादी केन्द्रप्रति नरम

ओलीले कांग्रेसले प्रस्टसँग आँखा देख्न छाडेको भन्दै चस्मा किनिदिनुपर्ने अवस्था आएको व्यंग्य गरे । आफ्नो सम्बोधनका क्रममा माओवादी केन्द्रविरुद्ध शब्द उच्चारण नगरेका ओलीले कांग्रेस धेरैपटक सरकारमा गए पनि केही गर्न नसकेको दाबी गरे । ‘नेपालको इतिहासमा कांग्रेस धेरैपटक सरकारमा गयो,’ उनले भने–‘तर, बाँदरका हातमा नरिवल ।’ अहिले एमालेको जनलहर देखेर चुनाव गर्न सरकार डराएको आरोप लगाउँदै ओलीले चुनाव नगराए आफ्नो पार्टीले कडा कदम चाल्ने चेतावनी दिए । उनले अर्को पटकदेखि सरकारमा जाने पालो एमालेबाहेक कसैको नआउने दाबीसमेत गरे ।

चुनाव गराउने आँट नभए राजीनामा दिनोस्ः नेपाल

एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव गराउने आँट नभए राजीनामा दिन चेतावनी दिए । ‘चुनाव गराउने आँट छैन भने राजीनामा दिए हुन्छ,’ उनले भने–चुनाव नगराउने भए किन सरकारमा बसिरहने’ सिंगो देशलाई जोड्न एमालेले मेची–महाकाली अभियान सुरु गरेको भन्दै उनले एमालेको जनलहर देखेर कांग्रेस र माओवादी केन्द्रले अभियान रोक्न धम्की दिएको दाबी गर्दै आफूहरू अभियानबाट पछि नहटेको बताए ।

नेता नेपालले अभियानको अवधिमा आफूहरू ५० लाख जनतामाझ पुगेको दाबी गरे । उनले समृद्धिको योजना एमालेसँग भएको भन्दै चुनावमा बहुमत नल्याएसम्म एमाले आराम गरेर नबस्ने बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।