राजतन्त्र र हिन्दु राष्ट्र हटाएको भन्दै चैत ७ देखि राप्रपाको आन्दोलन

निर्वाचन कार्यालय अगाडी धर्ना र जुलुस

काठमाडौं । निर्वाचन आयोगले पार्टीको विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र भन्ने शब्दावली हटाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ले त्यसको बिरोधमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्र’ हटाएको विरोधमा राप्रपाले आन्दोलनको घोषणा गरेको हो।

राप्रपाले जिल्ला सदरमुकाममा चैत ७ गते जुलुससहित जिल्ला निर्वाचन कार्यालयलाई ज्ञापनपत्र बुझाउने तथा एक घण्टा निर्वाचन कार्यालयमा धर्ना बस्ने बताएको छ । त्यसैगरि निर्वाचन आयोगको कार्यालय अगाडि एक घण्टा धर्ना दिने, ज्ञापनपत्र बुझाउने र कानुनी उपचारको बाटो खोज्ने योजना बनाएको राप्रपाले बताएको छ ।

राप्रपाले आफ्नो मागहरुसहित सदनमा सशक्त आवाज उठाने तथा हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राखेर चैतको तेस्रो हप्ताबाट देशव्यापी सडक संघर्ष गर्ने लगाएत बिरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टि प्रवक्ता रोशन कार्कीले आज एक विज्ञप्ति जारि गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रस्तावना र उदेश्यमा उल्लेखित मुलभूत मान्यतालाई हटाएर पार्टीको विधान परिवर्तन गर्ने गरी निर्वाचन आयोगले २०७३ चैत ४ गते गरेको निर्णय आपत्तिजनक एवम् संविधानको मर्म र भावना विपरित रहेको जनाएका छन ।

प्रवक्ता कार्कीद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने उक्त निर्णय राप्रपा स्विकार गर्दैन सो निर्णयबारे पुनर्विचार गर्न राप्रपा निर्वाचन आयोगसँग आग्रह गर्दछ ।’