बैद्य माओवादीका युवाहरु राष्ट्रिय स्वाधीनताका लागि आज राजधानीमा मार्चपाश गर्दै

बैद्यले सम्बोधन गर्ने

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आज ‘कञ्चनपुर र सप्तरी हत्याकाण्डको विरोध गरौं, राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकार प्राप्तिका लागि संघर्ष गरौं’ भन्ने मूल नाराका साथ साँस्कृतिक प्रतिरोध दिवस तथा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

क्रान्तिकारी माओवादी निकटको युवा संगठनले दिउँस २ बजे मार्चपास सहित उक्त विरोध कार्यक्रममा गर्न लागेको जनाएको छ । उक्त विरोध कार्यक्रमलाई नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले सम्बोधन गर्ने बताइएको छ ।

विक्रम सम्बत् २०५५ साल चैत ५ गते तत्कालिन सरकारले काभ्रे जिल्लाको अनेकोटमा ७ जना कलाकारहरुको हत्या गरेको दिनको स्मरणमा माओवादीहरुले सांस्कृतिक प्रतिरोध दिवस मनाउने गरको सन्दर्भ पारेर ‘युवा मार्चपास’ गर्न लागेको माओवादीले बताएको छ ।

क्रान्तिकारी युवा लिगको आयोजनामा हुने उक्त विरोध कार्यक्रममा ‘क्रान्तिकारी युवा लिग’ लेखिएका रातो रङका टि–शर्ट लगाएर, झण्डा र व्यानरसहित युवाहरुले काठमाडौंका विभिन्न स्थानहरुबाट र्याली सहित खुल्लामञ्चमा जम्मा हुने बताइएको छ ।

आयोजकका अनुसार खुलामञ्चबाट दिउसो १ बजे जमल, महेन्द्र शालिक, काठमाडौं प्लाजा, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, सहिदगेट, न्यूरोड, इन्द्रचोक, असन, भोटाहिटी तर्फ यवाहरुले मार्चपास गर्दै शान्तिबाटिकामा पुगेर सभामा परिणत गर्ने कार्यक्रम रहेको छ ।

काभ्रेको अनेकोटमा तत्कालीन सरकारले गीत, संगीतको माध्यमबाट क्रान्तिको तयारी गर्दै हिडेका च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनीमाया लामालाई २०५५ साल चैत ५ गते जिउँदै जलाएर हत्या गरेको थियो ।