साउदी जेलमा यातना भोग्दै इलामका प्रेम

काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा साउदी अरब गएका प्रेमबहादुर राईलाई साउदीस्थित नदिम रियादको कारागारमा कष्टपूर्ण यातना दिएको भन्दै दाजु चक्रबहादुर राईले तत्काल सकुशल उद्धारका लागि सरकारसँग आग्रह गरेका छन ।

कम्पनीको सामान (तार) सहित आफूले चलाउने गाडी चोरी भए पनि सामान चोरेर खाली गाडी भेटिएपछि साउदी अरबको रियादमा प्रहरी हिरासतमा रहेका प्रेमलाई लामो समयदेखि हिरासतमै राखिएको छ ।

चक्रका अनुसार हिरासतमुक्त गर्न नेपाली दूतावास साउदी अरबमा निरन्तर हारगुहार गरे पनि आजसम्म प्रेमलाई जेल समेत नलगी पीडादायी अवस्थामा लामो समयदेखि हिरासतमै राखिएको छ ।

कम्पनीले आफूमाथि गलत आरोप लगाएर बिनाकारण यातना दिएको प्रेमको भनाइ उद्धृत गर्दै चक्रले भने–‘भाइ सन् २०१२ मा साउदीकोे अलसहलावी कम्पनीमा ड्राइभर कामका लागि गएको हो । झन्डै चार वर्षपछि तीन महिना घर बिदामा आएर सन् २०१६ जनवरीमा पुनः श्रमस्वीकृति लिएर सोही कम्पनीमा गाडी चलाउन थालेको भाइ गएको चार÷पाँच महिना कारागार बस्यो । ’

यही आरोपमा उनलाई अदालतले दुई महिना कैद र ५० कोर्राको सजाय तोकेको थियो । सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले राहदानी नदिई पुनः मुद्दा उल्ट्याएपछि प्रहरीले हिरासतमा राखेर तीन लाख १० हजार रियाल (९५ लाख रूपियाँ नेपाली) जरिवाना तोकेको छ । जरिवाना तिर्न नसक्ने भएपछि प्रेमबहादुर ११ महिनायता हिरासतमै छन ।

लहरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा पुगेपछि गाडी पार्किङमा राखेर प्रेमबहादुर साथी भेट्न गएका थिए । त्यही बेला लहरीसहित तार चोरी भएको थियो । चोरी भएको थाहा हुनेबित्तिकै कम्पनीलाई सम्पर्क गरी प्रहरीलाई जानकारी दिएको दुई दिनपछि १० किमि टाढा रोमा भन्ने ठाउँमा सिसा तोडफोड भएको अवस्थामा गाडी भेटिए पनि तार भेटिएन ।

साउदीस्थित नेपाली राजदूत आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा पनि भाइलाई छुटाउन नसकेको चक्रको दुःखेसो छ । क्राउन इम्प्लोयमेन्ट प्रालि काठमाडौँको सम्पर्क कार्यालय शनिश्चरे रोड, बिर्तामोडबाट प्रेम लहरी ड्राइभिङ्गमा साउदी गएका थिए ।

भाइलाई राजकुमार नामका एजेन्टले विदेश पठाएको हुँदा उनीमार्फत कम्पनीमा निर्दोष रहेको प्रमाणित गराउन सहयोगको अपेक्षा गर्दासमेत सहयोग नपाएको चक्रको गुनासो छ ।

‘जेलमा हालेको भए समयमा खाना र सुत्न पाउँथ्यो तर हिरासतमा राखेका कारण खाने पिउने पनि समय नदिने गरेकाले स्वास्थ्यमा समेत गम्भीर असर परेको छ । अब भाइको घर फर्काउने इच्छा त सपना मात्रै होलाजस्तो भएको छ,’ चक्र भन्छन–।

‘हिरासतमा तिर्खा लागेका बेला पानीसमेत पिउन दिइएको छैन,’ प्रेमबहादुरले फोनमा पोखेको दुःख सुनाउँदै चक्रले भने– ‘कम्पनीले गलत आरोप लगाएर हिरासतमा राखेको छ । ’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न दूतावासबाट लिएको तथ्याङ्कअनुसार रोजगारीका लागि विभिन्न देशमा पुगेका १९ जना नेपालीलाई मृत्युदण्ड सुनाइएको छ । साउदीमा तीन, कुवेतमा पाँच, मलेसियामा १० र युएईमा एक जनालाई मृत्युदण्डको फैसला भएको छ ।

प्रधानमन्त्री कार्यालयले दिएको तथ्याङ्कअनुसार विभिन्न देशमा अन्य घटनामा कारागारमा पर्नेको सङ्ख्या २३१ रहेको छ । यीमध्ये २१९ पुरुष र १२ महिला छन् ।

श्रोतका अनुसार साउदीमा ७६, कुवेतमा ६१, कतारमा ५०, युएईमा १९, मलेसियामा १३, बहराइनमा ६, ओमानमा तीन, कोरियामा दुई र इजरायलमा एक जना कारागारमा रहेका छन् । कारागारमा रहेकामध्ये केही अदालती प्रक्रियामा रहेका र बाँकी छ महिनादेखि १५ वर्षसम्म जेल सजाय सुनाइएको छ । यस्तै २२ जनालाई भने जन्मकैदको फैसला भएको छ । गोरखापत्र