डाँका समूहको गोली प्रहारबाट सासू बुहारीको हत्या

मोरङ । मोरङको कटहरी १ मा शुक्रबार अपरान्ह अज्ञात समूहले एक व्यापारिक घरनाका सासु बुहारीको हत्या गरेर घरमा लुटपाट मच्चाएको छ ।

डाँका समूहले गोली प्रहार गरेर सासू ४५ वर्षीया दीपा निरौला (डाँगा) र बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा)को हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।

उनले दुबै जनाको हत्या गरेपछि घरमा लुटपाट मच्चाएर डाँका समूह फरार भएको हुन सक्ने बताए ।
घटनामा संलग्नको पहिचान हुन नसकेको उनले बताए । एसपी भण्डारीले घटनामा संलग्नलाई पक्राउ गर्नका लागि सबै नाका सिल गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको जनाए ।

घटना भएका बेला घरमा सासू, बुहारी मात्र थिए । अस्मिताको टाउको र दीपाको शरीरमा गोली लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दुई जनाको शव घरको भिन्दा भिन्दै कोठामा फेला परेको थियो । दुबै कोठामा रगतको आहाल थियो । घटनास्थल विराटनगरको हाटखोलाबाट लगभग दुई सय मिटर पूर्वमा पर्छ । घटनास्थल दिनभर व्यस्त रहने रंगेली विराटनगर सडक खण्डबाट लगभग ५० मिटर दक्षिणमा छ ।

दीपाका पति एवं अस्मिताका ससूरा इन्द्रचन डाँगा धान व्यापारी हुन् । उनी मोरङको कर्सियामा धानको व्यापार गर्छन । आफ्नो पहिचान खुल्ने डरले हत्यापछि लुटपाट गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका बारेमा साढे चार बजे प्रहरीले जानकारी पाएको थियो ।

घरमा काम गर्न बसेकी ११ वर्षीय ज्योति शर्माले घटना थाहा पाएर इन्द्रचनलाई खवर गरेकी थिइन । म स्कुलबाट फर्किएर घरमा पसेकी थिएँ,ु ज्योतिले भनिन्,–‘भिन्दा भिन्दै कोठामा दुई जनालाई मारेको देखेपछि रुँदैरुँदै अंकललाई भनेपछि उनले प्रहरीलाई खवर गरे ।

इन्द्रचनले आफ्नो कसैसँग केही रिसिईवी नभएको बताए । प्रहरी घटनास्थलमा पुग्दा घरको मुल ढोका भित्रैबाट लगाइएको र पछाडिको ढोका खुल्ला थियो । घटनापछि डाँका समूह घरको पछाडि पट्टीको ढोकाबाट भागेको हुन सक्ने प्रहरीले जनाएको छ ।

घरको कोठामा रहेकासामानहरु यत्रतत्र छरपस्ट थिए । दराज पनि खुल्ला थियो । घटनाको जानकारी पाएपछि घटनास्थलमासर्वसाधारणको भीड लागेको थियो । दिनदहाडै घटना भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रहरीले कति धनमाल लुटपाट भयो भन्ने बारेमा यकीन भइ नसकेको बताएको छ । घटनास्थलबाट प्रहरीले गोलीको खोका बरामद गरेको छ ।यो समाचार आजकको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।