यथास्थितिमा चुनाव गर्नखोजे निर्वाचन टोलीलाई गाउँ पस्न दिँदैनौं,आन्दोलन गर्छौंः नेता कर्ण

‘संविधान संशोधन गर्नुको विकल्प छैन’

काठमाडौं । सद्भावना पार्टीका सह अध्यक्ष तथा मधेशी मोर्चाका शीर्ष नेता लक्ष्मणलाल कर्णले यथास्थितिमा सरकारले निर्वाचन गर्न खोजेमा निर्वाचन टोलीलाई गाउँ पस्न नदिने र कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता कर्णले त्यसतो बताएका हुन । उनले पहिला पनि आफूहरुले नाकाबन्दी रहरले नगरेको र फेरी नाकाबन्दी गर्ने मनाशय पनि नभएको बताउँदै सरकारले आफ्नो बाध्य बनाएमा पुर्न कडा आन्दोलन गर्नुको आफुहरुसँग अर्को विकल्प नभएको बताए ।

नेता कर्णले अहिले संविधान संशोधन पहिले कि चुनाव भन्ने विषयमा विवाद भैरहेको बताउदै मुलुकको समस्या समाधान गर्नको लागि संविधान संशोधन गर्नुको अर्को विकल्प नभएको दाबी गरे ।

उनले स्थानीय तह पूर्नसंरचनाको काम काठमाडौंमा बसेर नक्सा हेरेर गरिएको भन्दै त्यसलाई आफूहरुले नमानेको जिकिर गदै भने–‘स्थानीय तह निर्धारण गर्दा जनसंख्याकै आधारमा हुनुपर्छ।’

उनले भने–‘यहाँ कोही संविधानमा केही चेन्जनै गर्नुहुँदैन भनिरहेका छन्, यो गलत हो। मुलुकलाई निकास दिनका लागि संविधान संशोधनको विकल्प छैन । स्थानीय तहको निर्वाचन गराउनै पर्ने दायित्वमा माओवादी केन्द्र लागेको र अर्को दुई वटा निर्वाचन गराउने दायित्वमा काँग्रेस लागेकोले संविधान संशोधनको काममा ठिलाइ भएको छ । हामीले त्यो विषयमा गम्भिर समिक्षा गरेका छौ ।’

उनले भने–‘जबरजस्ती निर्वाचन गरेर मुुलुकलाई द्धन्द्धमा लैजाने कि निर्वाचनको मिति पर सारेर मुलुकलाई सहमतिको लागि निकास दिने हो ? सरकारले सोच्नु पर्दछ ।’

कर्णले यथास्थितिमा आफूहरुले स्थानीय तहको निर्वाचनमा भाग नलिने भन्दै भने–‘सरकारसँग बन्दुक छ, तोप छ, गोली छ, लाठी छ, तर हामी चुनावको भद्र अवेज्ञा गर्छौं। चैत्र १५ गतेसम्म नरम आन्दोलनका कार्यक्रमहरु गछौ तर सरकारले त्यसलाई कमजोरीका रुपमा सोच्नु हुदैन । सहमतिको लागि दुवै तर्फबाट प्रयास हुनुपर्छ ।’