चौँरी’ महोत्सवको तयारी

पाँचथर । चौँरी पालन विकासका लागि पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा चौँरी महोत्सव गर्ने तयारी भइरहेको छ ।

फालेलुङको सिदिन, मेमेङ, प्राङ्बुङ क्षेत्रको पर्यटनको समेत विकास गर्ने गरी किसानको अगुवाईमा चौँरी महोत्सव गर्न लागिएको हो ।

यहाँको सुर्केथाम दुग्ध सहकारी संस्था र फालेलुङ चौँरी पालक कृषक समुहको आयोजनामा २०७४ वैशाख १ गते महोत्सव गर्न लागिएको हो । महोत्सव भव्यताले सम्पन्न गर्न ‘चौँरी पर्यटन महोत्सव’ नामक आयोजक समिति समेत बनाइएको छ ।

जिल्ला वन कार्यालयको दुई लाख, जिल्ला पशुसेवा कार्यालय र जिविसको एक÷एक लाख आर्थिक सहयोगमा महोत्सव गर्न लागिएको समिति उपाध्यक्ष चन्द्रलाल नेपालले बताए ।

मुख्य गरि हिमाल विनाको चौँरी र चौरी विनाको हिमाल रहने अवस्था आए यसले पर्यावरणलाई नकारात्मक असर गर्नेतर्फ सवैको ध्यानाकर्षण तान्न महोत्सव गर्न लागेको बताइएको छ । यसबाट एक आपसको शोभा राख्ने चौरी र हिमालको प्रवद्र्धनमा सहयोग पुग्दा हुन जाने पर्यटन विकासले आम्दानी पनि वृद्धि हुने विश्वास गरिएको छ ।

मेमेङ, प्राङ्बुङ र सिदिनका २२ किसानले मुख्य आम्दानीको स्रोतको रुपमा ४०० संख्यामा चौँरी पालन गरिरहेका छन् । यहाँका किसानले चौँरीजन्य पेशा व्यवसायबाट वार्षिक डेड करोड रुपियाँ आम्दानी गर्ने गरेका बताइएको छ । किसानले चौँरीका वाछावाछी, घ्यू, छुर्पी, चमरलगायत देश विदेशमा बेचेर आम्दानी लिने गरेका हुन् । गोरखापत्र